काठमाडौँ । नेपाली कांग्रेसमा नेपाली कांग्रेस बिपी पार्टी औपचारिक रूपमा समाहित भएको छ ।

आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा कांग्रेस बिपी समाहित भएको घोषणा गरिएको हो ।
कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस बिपीका सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा कांग्रेस बिपीको सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।
कांग्रेस बिपीले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सङ्गठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।











