
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने भएको छ । संसद सचिवालयले २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरेको हो ।
शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुने संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
गत १९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।
उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एक÷एक प्रति लिएर जानुपर्छ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।











