भोजपुर । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि चलिरहँदा भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्ला बजार तनावग्रस्त बनेको छ । नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको तर्फबाट मतदातालाई प्रभावित पार्न पैसा बाँडिएको आरोप लागेपछि स्थिति तनावपूर्ण बनेको हो।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले एमाले उम्मेदवारको पक्षमा पैसा बाँडेको भन्दै श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले विरोध गरिरहेका छन् । उनीहरूले एमालेको निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालय दिङ्ला घेराउ गरेका छन् ।
श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले सम्पर्क कार्यालय घेराउ गरी भित्र रहेका एमाले कार्यकर्ताहरूलाई बाहिर निकाल्न माग गरिरहेका छन् । उनीहरुले निर्वाचन धाँधलीरहित हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले सुरक्षाकर्मीले एमालेको निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालय दिङ्लालाई सुरक्षा घेरामा राखेको छ ।
निर्वाचन आयोगले मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार वा आर्थिक लेनदेन गर्न निषेध गरेको छ । स्थानीय प्रशासनले भने स्थिति सामान्य बनाउने प्रयास भइरहेको र घटनाबारे अनुसन्धान गरिने जनाएको छ।
उदास गत स्थानीय तहको निर्वाचनमा एमालेबाट षडानन्द नगरपालिका मेयर पदमा निर्वाचित भएका थिए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बीरवल राईलाई ८९५ मतको अन्तरले पराजित गरेका थिए।











