काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले नेपालको राजनीतिमा नालायकहरू नसुध्रिएका कारण अर्को शासन आउन लागेको बताएका छन् ।

‘हामी नालायकहरूले लफङ्गाहरूलाई शासन हस्तान्तरण गरेको यो क्षणमा अहिले हामी बाँचिराखेका छौँ । नेपालको राजनीतिमा नालायकहरूले नसुध्रिँदा खेरि, नालायकहरू हामीले हटाउन नसक्दखेरि यो मुलुकले नालायकहरूको शासन त भोग्यो,’ उनले भिडियो पोस्टमा भनेका छन्, ‘अब लफङ्गाहरूको शासन भोग्ने दूर्दिन बेहोर्दै छ भन्ने मलाई लाग्छ । मैले यो लफङ्गाहरूको शासन भनेर एउटा जोखिमपूर्ण शब्द प्रयोग गर्या छु । भविष्यमा फिर्ता लिन परोस् ।’
नेपालका कम्युनिस्ट पार्टीहरूले अर्को ठूलो धक्का खाएको उनको भनाइ छ । ‘हामीले अर्को डरलाग्दो धक्का फेरि खायौं । मुलुकको राजनीतिले खायो,’ उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नालायकीले नेपालको राजनीति त्यस अर्थमा नेपालको भविष्य बिग्रँदै गइराख्या छ । हामी सबैको यो चिन्ताको विषय हो ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालको नीतिका कारण यो अवस्था आएको उनको आरोप छ ।
‘कमरेड ओली र कमरेड प्रचण्ड पार्टीको कार्यकारी भूमिकामा रहेसम्म कम्युनिस्ट आन्दोलन अगाडि जान सक्दैन,’ उनको आरोप छ, ‘उहाँहरूको छायामा, नेतृत्वमा आन्दोलनमा अगाडि जाँदैन । यो नेतृत्व जति दिन रहन्छ यसले घुँडा टेकिरहने छ । धोका खाइरहने छ ।’











