
काठमाडौं । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशा झा विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार झा ३० हजार ४३४ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूल कुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१ हजार १९ रहेको छ ।
जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत पाएका छन् । राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेको थियो । जसमध्ये ७० हजार ५६० मत सदर भएका छन् भने ७ हजार ८८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











