
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड सम्बन्धी घटना छानविन गर्न गठित जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबारमा प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले आज प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्ने र लगत्तै मन्त्रिपरिषद्मा पेस गरेर कार्यान्वयनमा ल्याइने जानकारी दिए । प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताइरहेकी छन् ।
जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि कार्की नेतृत्वकझो अन्तरिम सरकारले गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो । सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारी दमनबाट ७६ जनाको ज्यान गएको थियो । तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग जाँचबुझ आयोगले बयान लिएको थियो ।














