
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।
सर्लाही–४ मा अमरेशसँग पराजित भएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै आफुले देखेका समस्याहरुको सम्बोधन गर्ने र क्षमताभित्र रहेका सबै काम गर्ने बताएका छन् ।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा गगन अमरेशसँग १३ हजार बढी मतले पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत ल्याएका थिए । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक गरेका थिए । चौथो पटक चुनावी मैदानमा उत्रिएका थापाको पहिलो हार भएको छ ।
यस्तो छ गगनको स्टाटसः
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।











