Logo
Logo

पर्साका चार वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’


504
Shares

काठमाडौं । चार वटा निर्वाचन क्षेत्र रहेको पर्सामा राष्ट्रिय स्वतन्त्रपार्टीले ‘क्लिन स्वीप’ गरेको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको आइतबार बिहान घोषित मतपरिणाम अनुसार, पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।  

यसअघिका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी दलले जित हात पार्दै आएका थिए । यसपटकको निर्वाचनमा भने रास्वपाले सबैको गढलाई भत्काएको हो । २०७९ को निर्वाचनमा पर्साका चारमध्ये दुई वटामा कांग्रेस, एउटामा नेकपा एमाले र एउटामा जसपा नेपालले जित हासिल गरेको थियो । 

पर्साका चार वटै निर्वाचन क्षेत्रमा पुराना सबै दलको विरासत ढाल्दै रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका छन् । चारमध्ये तीन नेपाली कांग्रेसका तर्फबाट तीन पूर्वमन्त्री र नेकपा एमालेका तर्फबाट एक जना पूर्वमन्त्री चुनावी मैदानमा रहे पनि चारै जना पूर्वमन्त्रीले रास्वपाका उम्मेदवारसंग लज्जास्पद पराजय भोगेका छन् ।  

पर्सा क्षेत्र नम्बर-१ मा रास्वपाका बुद्धिप्रसाद पन्त (हरि पन्त) २७ हजार २ सय ७४ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतको मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन् । यसअघिका दुवै निर्वाचनमा लगातार जित हात पारेका एमालेका यादवले यसपालि भने १३ हजार ३० मत मात्रै पाए । उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार अनिल रुंगटा भने ११ हजार ८८५ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगेका छन् । 

क्षेत्र नम्बर-२ मा पनि रास्वपाकै उम्मेदवार सुशीलकुमार कानु ३० हजार ७४० मतका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८५० मतको मतान्तरले पराजित गर्दै कानु विजयी भएका हुन् । सातौँ पटक निर्वाचन लडेका कांग्रेसका चौरसियाले ११ हजार ८९० मत मात्रै पाए । उक्त क्षेत्रमा एमाले उम्मेदवार रिमाकुमारी यादवले भने ११ हजार ६०५ मत मात्रै पाइन् । 

क्षेत्र नम्बर-३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त चौरसिया पनि फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पछाडि पार्दै रास्वपाका चौरसिया विजयी भएका हुन् । चौरसियाले २९ हजार ६६७९ मतका साथ जित हात पार्दा कांग्रेसका चौधरीले भने १६ हजार ३६६ मत मात्रै पाए । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले ११ हजार ९१४ मत ल्याए । 

क्षेत्र नम्बर-४ मा पनि रास्वपाकै उम्मेदवार टेकबहादुर शाक्य २८ हजार ६ मतका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतको मतान्तरले पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् । २०४८ यताका सबै निर्वाचनमा कांग्रेस उम्मेदवार बन्दै आएका रिजाल यसपालि भने १२ हजार ५३४ मतमै सीमित हुनु प¥यो । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत मात्रै प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्