Logo
Logo

‘घण्टी’को आँधी : मधेशबाटै बढारिए मधेशकेन्द्रित दल


567
Shares

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मत गणना अब जारी छ । १५१ क्षेत्रको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा आँधी आएको छ । उसले प्रत्यक्षतर्फ १२५ सिट जित्ने देखिएको छ । हालसम्म ११७ सिट जितिसकेको छ भने अझौ ८ सिटमा अग्रता छ ।

मधेशप्रदेश लगभग रास्वपाले स्वीप गरेको छ । रौतहट ३ मा कांग्रेसका फिरदोश आलम निर्वाचित भएका छन् भने धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज भएको थियो । मधेशका अन्य ३० सिटमा रास्वपाको जित करिब पक्का जस्तै छ ।

यो चुनावले मधेशकेन्द्रित दलको प्रतिनिधिसभामा प्रतिनिधित्व नै नहुने पक्का भएको छ । मधेशलाई आधारभूमि बनाएर सक्रिय रहेका जसपा नेपाल, लोसपा र जनमत पार्टी मात्र यसअघिको प्रतिनिधिसभामा थिए । राजेन्द्र महतोहरू त यसअघि नै प्रतिनिधिसभामा आउन सकेका थिएन् ।

तर, अहिलेको चुनावबाट जसपा र जनमत पार्टी पनि प्रतिनिधिसभामा नहुने पक्का भएको छ । भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनअघि जसपा नेपाल विभाजन गरी बनेको जसपाको नाम कतै देखिएन । यसअघि स्वतन्त्र जितेर आम जनता पार्टी बनाएका प्रभु साह पनि पराजित भएका छन् ।

समानुपातिकतर्फ जसपा नेपालले तीन प्रतिशत मत ल्याउने देखिए पनि उसले प्रत्यक्ष एक सिट पनि नपाएकाले उसले राष्ट्रिय दलको समेत मान्य नपाउने भएको छ । जसका कारण उसले समानुपातिक सिट पाउने छैन । जनमतको पनि यही अवस्था छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ बाट पराजित भए भने जनमतका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाट पारजित भए । यसअघिका चुनावहरूमा मधेश प्रदेशमा बलियो र अन्य प्रदेशका तराईका जिल्लाहरूमा प्रभावशाली देखिने मधेशकेन्द्रित दलहरू यो पटक रास्वपाको आँधी आउँदा मधेशबाटै बढारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्