काठमाडौं । रास्वपा उम्मेदवार ताराप्रसाद जोशी डडेल्धुरामा ३४ वर्षदेखिको कांग्रेस गढ भत्काएका छन् । डडेल्धुरामा २०४८ देखि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले जित्दै आएका थिए । यसपटक उनको सट्टा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो । तर, महरलाई भारी मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।

डडेल्धुरामा खसेको ४५ हजार ५४३ मतमा जोशीले १९ हजार १३१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत पाएका छन् । नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाएका छन् भने एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ९२६ मत पाएका छन् ।
जोशीको जन्म ३० चैत २०२७ मा डडेल्धुराकै गन्यापधुरा गाउँपालिका-२ बाजनगाउँमा भएको थियो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत रहेका उनी २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका पूर्वसभापति देउवासँग पराजित भएका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरे जोशी २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारीमार्फत निर्वाचित भएका थिए ।
उनी एमाले, एकीकृत समाजवादी, उज्यालो नेपाल पार्टी हुँदै यसपटक रास्वपामा प्रवेश गरेका हुन् । जोशीले सामाजिक र आर्थिक क्षेत्रमा पनि सक्रिय छन् । जोशीले आफ्नो पेशागत जीवन अध्यापनबाट सुरु गरेका थिए । उनले डडेल्धुराको वीर बलभद्र माध्यमिक विद्यालय, कोटेलीमा अध्यापन गरेका थिए भने पछि भुवनेश्वरी उच्च माध्यमिक विद्यालय, डडेल्धुरामा पनि शिक्षकका रूपमा कार्य गरेका थिए ।














