काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले फागुन २१ मो प्रतिनिधिको सभाको निर्वाचनमा निर्वाचित सबै उम्मेदवाहरुलाई बधाई दिएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै रुकुम पश्चिममा नेकपाबाट विजयी भएका नेकपा गोपाल शर्मालाई बधाई दिएका छन् । शर्माले तोकिएकै समय शान्तिपूर्ण निर्वाचन गर्न सफल भएकोमा सरकार र सुरक्षा निकायलाई पनि बधाई दिएका छन् ।

सन्देशमा उनले रुकुम पश्चिममा आफू चुनाव हारे पनि रुकुमेली जनताका आशा अपेक्षाहरू पूरा गर्न, निर्माणाधीन परियोजनाहरूको सम्पन्नता र गरिब, बेरोजगार र विभेद रहित रुकुम बनाउने, सुशासनयुक्त रुकुम बनाउने रुकुमेली जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्ने बताएका छन् ।
उनले भनेका छन्, ‘रुकुमका सबै राजनीतिक पार्टीहरूलाई रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूरा गरी रुकुमलाई सामाजिक न्याय र समानता युक्त एउटा समाज निर्माण गर्न समृद्ध रुकुम निर्माण गर्न यहाँहरू सबै एकताबद्ध भएर योगदान गर्नुहुनेछ भन्ने विश्वास छ ।’
राजनीतिक अस्थिरता प्रवृत्तिलाई पुरै परास्त गर्ने गरी दुई तिहाइ बहुमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत बधाई दिएका छन् । उनले देश विकास गर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको बताएका छन् । साथै उनले आफू सचेत नागरिकको हैसियतले राष्ट्रका हितमा हुने हरेक कदमहरूमा साथ र समर्थन दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।











