
काठमाडौं । धनुषा १ मा आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ ।
कालोसूचीमा परेको हुँदा योग्यता नपुग्ने भन्दै आयोगले फागुन १८ गते साहको उम्मेदवारी रद्द गरेको थियो । त्यसविरुद्ध दायर रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रारम्भिक सुनुवाइ गर्न लागेको हुन् ।
उम्मेदवार साह सर्वोच्च अदालत गएको थाहा पाएपछि आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन । साहले २० हजारभन्दा धेरै मत पाएका बताइएको छ । उनी अग्र स्थानमा छन् ।











