Logo
Logo

६ पूर्वसुरक्षाकर्मी संसदमा, दुई पूर्वआईजीपीको हार


1.4k
Shares

काठमाडौं । नेपालको सुरक्षा निकायमा लामो समय सेवा गरी अवकाशप्राप्त ६ जना अधिकारीले संसदीय यात्रा तय गरेका छन् ।
रोचक पक्ष के छ भने सुरक्षा फौजको माथिल्लो ओहोदा सम्हालेका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरू पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लौरो टेकेर चुनावी मैदानमा होमिएका पूर्वप्रहरी अधिकारीहरूले भने उत्साहजनक नतिजा निकालेका छन् ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बाट अवकाश पाएका विश्वराज पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतको झिनो अन्तरले पराजित गरे । पोखरेलले १३,९५३ मत प्राप्त गर्दा लुइँटेल १३,९४८ मतमा रोकिन पुगे ।

२०४९ सालमा निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेलको वृत्तिविकासमा तत्कालीन राजनीतिक हस्तक्षेप बाधक बनेको थियो । ज्येष्ठतामा अगाडि भए तापनि नेतृत्वबाट वञ्चित भएपछि साउन २०७९ मा उनले अवकाश लिएका थिए ।

निर्वाचनको सँघारमा रास्वपा प्रवेश गरेका उनले पार्टी सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै न्यायका लागि लड्ने उद्घोष गरेका थिए । अब उनको कार्यक्षेत्र सडक र संगठनबाट बदलिएर नीति निर्माणको तहमा पुगेको छ ।

आफ्नो कार्यकालमा ‘खरो र निडर’ छविका कारण ‘सिंघम’को उपनामले चिनिएका पूर्वएसएसपी विक्रमसिंह थापा पनि रास्वपाकै टिकटमा निर्वाचित भएका छन् । उनले २७ हजार ६३५ मत प्राप्त गर्दै कांग्रेसका दिग्गज नेता सुरेन्द्रराज आचार्यलाई ६ हजार १०८ मतान्तरले पाखा लगाए ।

२०७३ मा अवकाश पाएपछि कांग्रेसमा आबद्ध भई प्रदेशसभाको स्वाद चाखिसकेका थापाका लागि यो जितले राष्ट्रिय राजनीतिमा दरिलो प्रवेश गराएको छ । ३० वर्षको सुरक्षा अनुभव अब संसद्को बहस र कानुन निर्माणमा खर्चिने उनले प्रण गरेका छन् ।

सुरक्षा पृष्ठभूमिका अन्य तीन उम्मेदवारले पनि रास्वपाकै ब्यानरमा संसद्को यात्रा तय गरेका छन् ।
गोविन्द पन्थी (पूर्वडीएसपी): गुल्मी–२ बाट नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई ५६१ मतले पराजित गर्दै पूर्वडीएसपी गोविन्द पन्थीले सनसनीपूर्ण जित निकाले ।

शम्भु ढकाल ’सुस्केरा’ (पूर्वसई): शम्भु ढकालले पनि झापा–४ बाट भारी मतान्तर (४६,६३१ मत) सहित विजयी । उनले एमालेका एलपी सावा लिम्बुलाई ३४ हजारभन्दा बढीको फराकिलो अन्तरले पराजित गर्दै अघिल्लो हारको बदला लिए । ढकाल साहित्य र सञ्चार क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

राजुनाथ पाण्डे (पूर्वनगरप्रहरी प्रमुख): काठमाडौं महानगरको नगरप्रहरी प्रमुख पदबाट राजीनामा दिएर राजनीतिमा हाम फालेका पाण्डेले काठमाडौं–३ बाट उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई ७,५८६ मतान्तरले पराजित गरे।

मोहम्मद फिरदोस आलमः रौतहट–२ बाट कांग्रेसको उम्मेदवार बनेका ३९ वर्षीय मोहम्मद फिरदोस आलम पनि पूर्वप्रहरी अधिकृत हुन् । प्राविधिक निरीक्षक पदबाट राजीनामा दिएका उनी दिवंगत नेता आफताव आलमका छोरा हुन् । उनले नेकपाका किरणकुमार साहलाई ११,०८६ मतान्तरले पराजित गर्दै बुबाको राजनीतिक विरासतलाई संसदीय स्वरूप दिएका छन् ।


पूर्वआईजीपीद्वयलाई धक्का
यस निर्वाचनले सुरक्षा निकायका सर्वोच्च कमान्डरहरूका लागि भने सुखद परिणाम ल्याएन । २०५४ का पूर्वआईजीपी ध्रुवबहादुर प्रधान यसपटक नवलपरासी–२ बाट रास्वपाका नरेन्द्रकुमार गुप्तासँग भारी मतले पराजित भए ।

त्यस्तै एमाले र अन्य दल बदल्दै तेस्रो पटक चुनावी मैदानमा उत्रिएका पूर्वआईजीपी सर्वेन्द्र खनालले यसपटक पनि संसदीय यात्रा तय गर्न सकेनन् । खनाल बारा–४ मा रास्वपाका रहबर अन्सारीसँग पराजित भए । ४१ हजार मत पाउने अन्सारीको तुलनामा खनालको मत केवल ४६४ मा खुम्चिनुले उनको राजनीतिक यात्रामा ठूलो धक्का लागेको छ ।

यसपटकको निर्वाचनले सुरक्षा निकायको अनुभवलाई जनताले अनुमोदन गरे पनि ’पुरानो नेतृत्व’ भन्दा ’नयाँ दल र नयाँ अनुहार’ लाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्