Logo
Logo

६ सय सहसचिव र आठ समय उपसचिवको समायोजन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० माघ ।
सरकारले कर्मचारी समायोजनालाई तिव्रता दिएको छ । ६ सय सहसचिव र आठ सय उपसचिवको समायोजन अन्तिम चरणमा पुगेको छ ।

आइतबार आठ सय २४ जना उपसचिवलाई समायोजन गर्न लागिएको छ । उपसचिवलाई संघ (केन्द्र सरकार) मातहत नै रहने गरी समायोजनको पत्र दिन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरुले बताए ।

’मन्त्रिस्तरीय निर्णयबाट उपसचिवलाई समायोजन गर्न लागिएको हो,’ पनेरुले भने, ’समायोजन भएको पत्र अनलाइनमा राख्छौं।’ मन्त्रालयले समायोजनमा जान भन्दै पुस ११ गते २१ दिने सूचना निकालेर आवेदन मागे पनि २२ जना उपसचिवले आवेदन दिएका थिएनन्। आवेदन नदिने उपसचिवलाई पनि समायोजन गरिने मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रिपरिषद्को स्वीकृतिमा मन्त्रालयले ५६ जना सचिवलाई समायोजनको पत्र दिएको थियो।

सचिवहरू संघ अन्तर्गत कार्यरत रहेकै स्थानमा यथावत् रहने गरी समायोजन भइसकेका छन्। सहसचिवलाई पनि समायोजन गर्ने तयारीमा मन्त्रालय जुटेको पनेरुले जानकारी दिए। सहसचिवलाई समायोजन गर्न पत्र बनेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ। सोमबार बस्ने मन्त्रिपरिषदले समायोजन गर्ने बाटो खोल्नेछ। त्यसपछि सहसचिवलाई समायोजन भएको पत्र दिने उनले बताए।सहसचिवको दरबन्दी पनि संघ मातहत छ।
’सहसचिव समायोजन गर्न पत्र मन्त्रिपरिषदमा पठाएका छौं,’ उनले भने, ’छ सय ६२ जना सहसचिवलाई समायोजन गर्छौं।’

सरकारले फागुन ३ गतेसम्म सबै तहमा कर्मचारी समायोजन भइसक्ने गरी कामलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्