काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर) तथा फेसबुकमार्फत मोदीले सो जानकारी दिएका हुन् । उनले नेपालको हालै सम्पन्न संसदीय निर्वाचनमा रास्वपाले हासिल गरेको ऐतिहासिक सफलताका लागि दुवै नेतालाई बधाई दिएका छन् ।
मोदीले लेखेका छन्, रास्वपा अध्यक्ष श्री रवि लामिछाने तथा वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग आत्मीय टेलिफोन संवाद भयो । दुवै नेतालाई निर्वाचनमा हासिल गरेको व्यक्तिगत सफलता तथा रास्वपाको सफलताका लागि बधाई ज्ञापन गरेको छु । आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै दुवै देशको पारस्परिक समृद्धि, प्रगति तथा नागरिकको हितका लागि भारत सरकार प्रतिबद्ध रहेको बताएको छु ।’उनले थपेका छन्, ‘संयुक्त प्रयासबाट भारत–नेपाल सम्बन्ध आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु । दुवै देशले मिलेर द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा गरेको छु ।’
नेपालको निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गर्दै नयाँ सरकार गठनको नेतृत्व लिने सम्भावना बढेसँगै मोदीले पहिलो विश्व नेताको रूपमा यी दुई नेतालाई बधाई दिँदै भारतको सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन् ।











