काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएका छन्। मोदी सामाजिक सञ्जाल एक्समार्फत लामिछाने र शाहलाई मेन्सन गर्दै नयाँ सरकार गठनका लागि शुभकामना दिएका थिए।
त्यसको एक दिनपछि शाहले भारतीय प्रधानमन्त्री मोदीलाई एक्समार्फत नै जवाफ दिएका हुन्। मोदीको पोस्टमा कमेन्ट गर्दै शाहले लेखेका छन्, ‘नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’
यससँगै शाहले आईसीसी टी-२० विश्वकप जितेकोमा भारत सरकार र भारतीय नागरिकलाई बधाई दिएका छन्। ‘लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ शाहले भनेका छन्।











