काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले नेपालको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको प्रभाव रहने गरेको बताएका छन् । उनले हरेक राजनीतिक परिवर्तनमा बाह्य शक्तिको सहयोग र लगानी रहने र परिवर्तनपछि ती शक्तिले आफ्नो स्वार्थअनुसार प्रतिफल खोज्ने प्रवृत्ति देखिने टिप्पणी गरेका हुन् ।

थापाले २०८२ को राजनीतिक परिवर्तनमा पनि बाह्य शक्तिको भूमिका रहेको तथ्य लुकेको नरहेको उल्लेख गर्दै परिवर्तनपछि बाह्य शक्तिहरूले आफ्नो स्वार्थ र लगानीको मूल्य खोज्ने अवस्था आउने जिकिर गरेका छन् ।
आगामी सरकारको सन्दर्भ उठाउँदै उनले बालेन शाहको नेतृत्वमा बन्ने सरकार बाह्य दबाब र प्रभावबाट मुक्त रहन सक्ला भन्ने प्रश्न उठाएका छन् । यही विषयसँग नेता रवि लामिछाने र बालेन शाह मात्र होइन, सिङ्गो मुलुकको भविष्य जोडिएको उनको धारणा छ ।
थापाले अन्त्यमा बालेन शाहलाई शुभकामना दिँदै देशको भविष्यका लागि स्वतन्त्र निर्णय क्षमता आवश्यक रहेको संकेत गरेका छन् ।











