काठमाडौं । नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसद खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेशाप्रति अभिव्यक्त अमर्यादित शब्द र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा यस्तो अभिव्यक्ति शिक्षक-कर्मचारीको पेशागत मर्यादा र स्वाभिमान विपरीत रहेको छ र स्वीकार्य नभएको उल्लेख गरेका छन् ।
सांसद सुनारको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत रहन आग्रह गरेका छन् ।
सांसद सुनारले‘कन्सिरी तानेर डस्टरले टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए, सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ ।
महासङ्घले शिक्षक र शिक्षण पेसा जस्तो गरिमामय क्षेत्रलाई होच्याउने कार्यले शिक्षा क्षेत्रको विकासमा नकारात्मक असर पुग्ने बताउँदै नेपाली शिक्षक-कर्मचारीको पेसागत मर्यादा र स्वाभिमानको रक्षाका लागि महासङ्घ जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख छ ।











