एजेन्सी । इरानसँगको युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्दै गएपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने निर्णय गरेको छ।

अमेरिकी अखबार द वासिङ्टन पोस्टले जनाएको छ कि अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको हो।
अहिलेसम्म अमेरिका रूसबाट तेल किन्ने देशहरूलाई उच्च भन्सारदर लगाउँदै आएको थियो।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इस्राइलले संयुक्त रूपमा इरानमाथि आक्रमण थालेको थियो। जबाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ हर्मुजमा तेल बोकेका ट्यांकरहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ।
यस घटनाक्रमले विश्व बजारमा तेलको आपूर्ति घटाइरहेको र मूल्य लगातार बढिरहेको छ।
मूल्य वृद्धिलाई नियन्त्रण गर्न अमेरिकी अर्थ मन्त्रालयले समुद्रमा रहेका तेलमाथिको प्रतिबन्ध मात्र अस्थायी रूपमा हटाएको जनाएको छ। यसबाट अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरूले रूसबाट विभिन्न देशमा तेल पठाउन सक्नेछन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “यो छुट अस्थायी हो र अप्रिल ११ सम्म मात्र लागु हुनेछ। यसले विश्व बजारमा करोडौं ब्यारेल कच्चा तेल थपिने र इरान युद्धपश्चात प्रति ब्यारेल १०० डलर पुगेको मूल्य घटाउन सहयोग पुग्नेछ।”
सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका रूसी अर्थतन्त्रमा दबाब सिर्जना गर्न र युद्धमा कमजोर बनाउन रूसी तेलमाथि प्रतिबन्ध लगाएको थियो।
रूसले प्रतिबन्ध छल्न अस्पष्ट पहिचान भएका तेल ट्यांकरहरू प्रयोग गर्दै आएको छ। भारतलगायत केही देशहरूले प्रतिबन्ध र भन्सारदरका कारण रूसी तेल किन्न रोक लगाएका थिए।
इरानमा युद्ध सुरु भएपछि अमेरिकाले भारतलाई रूसी तेल किन्न अनुमति दिएको छ।
हाल अमेरिकी अर्थ मन्त्रालयले स्पष्ट पारेको छ कि प्रतिबन्ध खुकुलो पारिएको कदम नयाँ तेलका लागि होइन, समुद्रमा ढुवानी भइरहेका तेलका लागि मात्र हो। अर्थमन्त्री बेसेन्टले यसबाट रूसलाई ठूलो आर्थिक लाभ नहुने पनि दाबी गरेका छन्।
तर अमेरिकी सिनेटका शीर्ष डेमोक्र्याट नेताहरूले यो निर्णयको आलोचना गरेका छन्। उनीहरूले इरान युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको र त्यसको दबाब कम गर्न ट्रम्प प्रशासनले रूसमाथिको प्रतिबन्ध कमजोर बनाएको आरोप लगाएका छन्।
ऊर्जा बजारसम्बन्धी तथ्यांक सङ्कलन गर्ने कम्पनी केप्लरका अनुसार हाल करिब १३ करोड ब्यारेल रूसी तेल अन्तर्राष्ट्रिय जलमार्गमा छ।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यस्तो अस्थायी छुटले तेलको मूल्य घटाउनभन्दा बढी, रूसी तेलमाथिको प्रतिबन्धलाई प्रभावहीन बनाउन सक्छ। साथै यसले अमेरिका र युरोपबीचको मतभेद अझ बढ्न सक्ने सम्भावना पनि छ।











