काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किएको छ । पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफ्नै पार्टीका अर्का नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाउँदै ‘चरम अवसरवादी पात्र’ को संज्ञा दिएका छन् ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङलाई लक्षित गर्दै लेखेका छन्, ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्रै होइन, पटकपटक पार्टी फुटाउँसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन ।’ उनले थपेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाइलागेछन् । म तपाईँ जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहास हेरौँ न।’
तामाङले आफ्नो भूगोल (सिन्धुपाल्चोक) मा मत जोगाउन नसक्नेहरूले नेतृत्वको राजीनामा माग्ने नैतिकता नहुने भन्दै प्रतिक्रिया दिएका थिए । तामाङ सिन्धुपाल्चोकका हुन् भने बास्कोटा काभ्रेका । दुवै पूर्वमन्त्री हुन् र पार्टीभित्रका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।बास्कोटाको यो प्रत्युत्तरले एमालेमा गुटगत विवाद र व्यक्तिगत आरोप–प्रत्यारोपलाई सतहमा ल्याएको छ ।











