Logo
Logo

फेक आईडी चलाएर पार्टीभित्रैबाट प्रहार भयो : योगेश भट्टराई


0
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र भइरहेका नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति र मिथ्या सूचना सम्प्रेषणप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा रहेको यस्तो संवेदनशील घडीमा एक–अर्काप्रति हिलो छ्याप्ने काम अशोभनीय भएको बताएका हुन् ।

भट्टराईले अध्यक्ष ओली शोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको स्मरण गराएका छन् ।

साथै उनले यो समय सबैका लागि शोकको घडी भएको उल्लेख गर्दै पार्टीका माथिल्लो तहका नेताहरूबाटै आफू लगायत अन्य नेताहरूका विरुद्ध फेक फेसबुक पेज बनाएर अनर्गल लान्छना र घृणायुक्त अभिव्यक्ति दिने काम भइरहेको भन्दै आपत्ति जनाए ।

उपमहासचिव भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडीमार्फत नियोजित रूपमा मिथ्या सूचना फैलाउने कार्य भइरहेको तर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।

पार्टीका नेताहरूकै संलग्नतामा यस्ता गतिविधि हुनु दुःखद भएको भन्दै उनले अहिलेको मुख्य कार्यभार पार्टीको एकता जोगाउनु र गुमेको जनविश्वास पुनः आर्जन गर्नु रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु र जनविश्वास आर्जन गर्नु नै अहिलेको प्राथमिक जिम्मेवारी हो । यसका लागि उपयुक्त समयमा विधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल गर्न जरुरी छ ।’

भट्टराईले मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ लाई तत्काल बन्द गर्न आह्वान गर्दै भनेका छन्, ‘फेरि पनि भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्