
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ । बढेको मूल्य गएराति १२ बजेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।
निगमले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको प्रष्टीकरण दिएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य भारी वृद्धि भएर आए पनि नेपालमा नबढाइएको हो । खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि बढाइएको छैन ।
अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि नगरेर थोरै मात्र वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार बढेर आएको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य वृद्धि गरिएको भए प्रतिलिटर ३१ रुपैयाँ बढाउनु पर्ने थियो । त्यसैगरि डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ बढाउनु पर्ने थियो । डिजेमा बढेर आएको भन्दा ४४ रुपैयाँ कम मूल्य वृद्धि गरिएको हो ।
निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरि दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टीतेलको मूल्य १५१ पुगेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई भने पहिलो वर्गमा राखेको छ ।
यी ठाउँमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्नाको कारणबारे निगमले विज्ञप्ति जारी गरेर लामो प्रष्टीकरण दिएको छ ।













