Logo
Logo

दुई पटक इच्छाविपरीत चुनाव लडेँ, अब लड्दिनँ- सिके राउत


0
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात उनले सामाजिक सञ्जालमार्फत अब आइन्दा कुनै पनि संसदीय चुनावमा भाग नलिने घोषणा गरेका हुन् ।

उनले संसदीय राजनीतिबाट सन्यास लिने तर संघर्षको राजनीति जारी राख्ने उल्लेख गरेका छन् । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उनको भनाइ छ । यसअघि दुईपटक व्यक्तिगत इच्छाविपरित संसदीय चुनाव लडेको राउतले दाबी गरेका छन् ।

उनी लेख्छन्, ‘दुईपटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें । तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु ।’

आफूले जनमत पार्टीको नेतृत्व पनि अनिच्छापूर्वक स्वीकारेको राउतको भनाइ छ । उनले लेखका छन्, ‘२०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई सरकारले बिलकुलै कुनै काम गर्न नदिए पछि र जनतामा जान पूर्णतः रोक लगाए पछि पार्टी खोल्नु पर्यो भनेर हामीले निर्णय गर्यौं । सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक कन्भिन्स गरें । उहाँहरूले न माने पछि मआफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो ।’

यस्तो छ उनको स्टाटस–
सप्तरी–१ र सप्तरी–२ मा उम्मेदबार खोज्दा–खोज्दा मनोनयन दर्ताको दिन करीब ३ नै बज्यो । म नलड्ने भनेर सप्तरी–१ र सप्तरी–२ का लागि दुई जना उम्मेदबारहरूको फारम पनि भरियो । तर यसलाई अकस्मात् जनता र समर्थकसमक्ष कसरी लग्ने, कसरी जवाब दिने भनेर अन्यौलता रह्यो । त्यही भएर जिल्ला इन्चार्जलाई ५–६ जना मात्रै गएर दर्ता गर्ने, कुनै जुलुसहरू नल्याउन भनेर निर्देशन दिइयो, ताकि जम्मा भएको भीडलाई कुनै ‘शक’ नलागोस् । तर अन्तिम क्षणमा हाम्रो मेयर साहब सहितका केही साथीहरूले सम्झाउनु भयोः तपाईं लड्नु भएन भने पार्टीका उम्मेदबार र कार्यकर्ताको मनोबल गिर्छ, पार्टीले राम्रो गर्दैन, दोष तपाईंलाई आउँछ, बरू तपाईं जितेपछि राजीनामा दिनुहोला ।

मलाई के लाग्थ्यो भनेः यसपालि त म बिना पनि कम्तीमा ४–५ सीट प्रत्यक्षमा आउँछ नै, म नउठे पनि । त्यही भएर म उठिरहनु उचित देख्दिनथें । अन्ततः व्यक्तिगत ईच्छा विपरीत फेरि पनि पार्टी र उम्मेदबारको मनोबल गिर्न नदिन उठियो । परिणाम आए पछि फेरि हिस्स । फेरि लाग्यो सल्लाह मानेर र उठेर ठीकै गरेको रहेछु । नउठेको भए जनमत पार्टीबाट कोही नजित्नु, जनमत पार्टी राष्ट्रिय पार्टी नबन्नुमा सबै दोष मलाई नै आउँथ्यो (जबकि यस लहरमा परिस्थिति बिलकुल भिन्न छ) । त्यसैले साथीभाइको सल्लाह मान्दै दोस्रो पटक पनि उठेर ठीक गरेछु भनेर एकदम लाग्छ।

यसपछाडि मनमा अन्य कुनै लोभलालच पलाओस् वा पद–लालसा आओस्, वा मायाजालमा झन्झन् अल्झिँदै जाऊँ, त्योभन्दा अगाडि नै म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छुः म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु । तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु । साथै, जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनको लागि तैयारी गराउन प्रतिबद्ध छु ।

म सदैव तपाईंहरूको बीचमा नै रहनेछु, हरेक मोर्चा र संघर्षमा तपाईंहरूसँगै खडा हुनेछु, अधिकार र पहिचानको लडाईँमा सदैव भूमिका निर्वाह गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्