काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी पुगेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाइ गरेको भन्दै युवराज पौडेल सफलले उन्यायपरिषद्मा जुरी लिएर पुगेका हुन् । यद्यपि उजुरी दर्ता भने भइसकेको छैन ।

अहिले पोखरेलको इजलासमा लामिछानेको सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्तको निर्णयविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ । यसबारे प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतसँग थप परामर्श गर्ने परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीशविरुद्धको उजुरी हेर्ने क्षेत्राधिकार परिषद्को नभएको भन्दै थप छलफल हुने उनले बताए ।
न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ को उप दफा ४.५ को (ग) ले विपरीत काम गरेको उजुरीमा उल्लेख छ । यो दफामा विवादित विषयमा न्यायाधीशले पहिले कानुन व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा रहेको भएमा मुद्दाको सुनुवाइ गर्न नहुने उल्लेख छ ।
न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्सान, नागरिकता, पासपोर्ट जस्ता मुद्दामा वकिलको रूपमा काम गर्नुभएको थियो । न्यायाधीश भएपछि रविविरुद्ध लागेका मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत भए पनि त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ ।
लामिछानेमाथि लागेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयविरुद्ध परेको रिट हिजो पोखरेल र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो । सो मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।











