धादिङको ज्वालामुखीमा मेगा बैंकको शाखा « Drishti News – Nepalese News Portal
Logo

धादिङको ज्वालामुखीमा मेगा बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उदघाटन भएको छ । ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको सो गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले उद्घाटन गरे । ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै उनले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए । राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।

बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उनका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रतिक्रिया दिनुहोस्