Logo
Logo

मुख्यमन्त्रीले घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरेको हो । केही दिनअघि एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।

अन्तर्वार्तापश्चात् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरण अनुकूल नभएको भन्दै कृष्णदत्त भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

उक्त अभिव्यक्ति निराधार, कपोलकल्पित र चरित्रहत्या गर्ने मनसायले दिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको थियो ।
यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिहरूमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरणमा लेखिएको थियो । चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले उल्लेख गरेको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको भन्दै भट्टमाथि कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्