Logo
Logo

पदको कलम र नामको काम


- कृष्णमणि पराजुली


योग्यता, क्षमता, दक्षता, कार्यकूशलता अंगालेर माथिल्लो पदमा पुग्ने कुरा प्रायः मृत भइसकेको छ । मृत भइसकेको पछि लाग्नुको कुनै अर्थ हुँदैन । त्यसकारण आजकल माथिल्लो पद ग्रहण गर्न आफ्नो पदीय क्षमता विकास गर्नेतिरभन्दा माथितिरकालाई प्रभाव पार्नेतर्फ लागिपरेका देखिन्छन् ।

कृष्णमणि पराजुली

माथिकाहरु पनि आपूmलाई निकै ठूलो ठानेका हुन्छन् । किनभने उनीहरुको पछि मान्छेका ताँती हुन्छन्, कमिलाकाजस्तै । पदका अधिकार हुन्छन् । ती पदहरुले जथाभावी अधिकार प्रयोग गर्न पाउँदैनन् । तर, पनि पदको दुरुपयोग भइदिन्छ । परिणामस्वरुप अधिकार पनि दुरुपयोग हुने नै भयो । पद र अधिकारको दुरुपयोग गरी दिने भएपछि मान्छेको ताँती किन नहुने ? जे चाह्यो त्यही गर्न पाइने भएपछि पदको कलम कति शक्तिशाली हुँदोरहेछ भन्ने कुरा तपाईँ हामी सबैले बुझिआएकै छौँ ।

पद आफँैमा केही होइन । यसलाई सक्रिय बनाउने काम उसमा रहेको क्षमता, बुद्धि, ज्ञान आदिबाट भएको हुनुपर्ने हो । तर, यहाँ त उसँग भएको कलमले गरेको हुन्छ । यो कलम यति शक्तिशाली हुन्छ कि हुनेलाई नहुने बनाउन सक्छ र नहुनेलाई हुने बनाउन सक्छ । तपाईँ जे चाहनुहुन्छ, त्यही बनाइदिने शक्ति उसमा निहीत भएको हुन्छ । सत्ययुगका ऋषिमुनिजस्ता । तथास्तु भनेपछि पुगिहाल्यो । टाउकोमा हात पुग्नुप¥यो । तपाईँ धनी हुनचाहनु हुन्छ अथवा माथि पुग्न चाहनुहुन्छ भने तथास्तु खोज्नैपर्छ । खोज्न पनि त्यति गाह्रो छैन । त्यसको लागि तपाईँले पैताला खियाउनु नै पर्छ होला । दुई/चार जोर गोल्डस्टार फटाउनै पर्छ होला । गणित बुझ्न पनि पर्छ होला । गणितमा त्यति पोख्त पनि सायद हुन पर्दैन । जोड घटाउको सामान्य ज्ञान भए पनि पुग्छ । पहिले धनात्मक र ऋणात्मक भनिने गरिन्थ्यो । अहिलेको आधुनिक भाषामा प्लस माइनस । धेरैले रुचि राख्ने प्लस नै भएकोले प्लसलाई पहिले उच्चारण गरिन्छ र माइनसलाई पछि मात्र ।

पद यस्तो वस्तु रहेछ जहाँ साधारण मानिस नाम सुन्नेबित्तिकै तर्सिने गरेका हुन्छन् । पद ठूलो अथवा माथिको पनि चाहिँदोरहेनछ । सानै भए पनि पदधारण गर्नेलाई राम्रै गर्दोरहेछ । यो कुरा भनिरहनु पर्दैन कि सुब्बा खरदारले कति बिगबिगी गरेका छन् । अरुको त कुरै नगरौं । माथिका त भई गए नि । उनीहरुले केही गर्नै पर्दैन । अहिले चलनचल्तीमा आएको एउटा पाइलट पेन भए भइहाल्छ । यसैले सबै काम गरिहाल्छ । यति कुरा बुझ्नुहोस् कि पाइलट पेन प्रायः गरेर ठूला पदले नै प्रयोग गर्ने गर्दछन् । तर, साँठगाँठले गर्दा आजकाल साना पदले पनि लिने गर्दछन् । सायद ठूला र सानाको साँठगाँठ भएकोले होला ।

कानूनले गर्नैपर्ने काम पनि हुँदैन कि भनेर मानिस डराइडराइ पदको अगाडि बाध्यतावश धनुष्टंकार गर्न पुगेका हुन्छन् । धनुष्टंकार पाएपछि पद मै नै सर्वेसर्बा हुँ भन्ने ठान्दछ । उ अहम्ले भरिभराउ भएको हुन्छ । आफूभन्दा ठूलो कोही छैन भन्ने ठानेको हुन्छ । जाने पनि नजाने पनि केही मतलब हुँदैन उसलाई । कलमले लेख्न पाए भयो उसलाई । बुझ्न जरुरी छैन उसलाई । केही न केही भएकै हुन्छ उसलाई । सकभर अरु नै पाएको हुन्छ उसले । अरुथोक नपाए पनि उसले धनुष्टंकार भने निश्चय नै पाएको हुन्छ । यदि धनुष्टंकार पनि दिनु सक्नुभएन भने तपाईंले ठूलो भूल गरेको ठहरिनेछ । किनभने तपाईँको यो भूल पदका लागि ठूलो चित्त दुखाइ हुनेछ । तपाईँलाई पदले कहिले पनि बिर्सने छैन । उसको मनमा सधैँ तुष बसिरहेको हुन्छ । मौका मिलेमा त्यो तुष तपाईँको लागि बल्झिन सक्नेछ ।

यो पद तपाईँको लागि मात्र तुष बनेको छैन । तपाईँजस्ता धेरैलाई दुःख दिएको हुन्छ । पदले अरु केही दिएको हुँदैन । यस्ता यस्तै दुःख दिएको हुन्छ । दुःख दिन पाएन भने ऊ बहुलठ्ठी पनि हुन सक्दछ । बहुलठ्ठीले जे पनि गर्न सक्दछ । त्यसैले तपाईं हामी सहज र सतर्क हुनु पर्दछ ।

पदले आफ्नो इतिहास बिर्सिएको हुन्छ । त्यसैले ऊ मैमत्ती भएको हुन्छ । उसलाई कलम भए पुगिहाल्छ । उसको आयआर्जन गर्ने उपकरण यही कलम हो । पद पनि छ, कलम पनि छ । यति भएपछि भैहाल्यो नि ! अरु के चाहियो र ? कलम पनि यति शक्तिशाली हुन्छ कि, उसले जस्तो पनि लेख्न सक्दछ र जे पनि लेख्न सक्छ । उसको लेखाइ नुनदेखि सुनसम्म हुन सक्दछ । पत्रिकाहरुमा हानथाप गरी छापिएका हुन्छन् । पद भएपछि पुगिहाल्छ । नराम्रो भए पनि राम्रै कोटीमा दरिएको हुन्छ । त्यसैले आजकल तपाईँले देख्नुभएको होला पदले लेखेका लेखहरु बारम्बार पत्रिकामा पढ्न पाइएकै छन् दिनदिनै । तपाईंले जति राम्रा लेख लेख्नु भए पनि ती सबै रद्दीका टोकरीमा बस्ने सिबाय अरु केही हुन सक्दैनन् । जे गर्दोरहेछ पदले नै गर्दोरहेछ । तपाईँको योग्यता, क्षमता, दक्षता र अनुभवले कुनै अर्थ राख्दैनन् । केवल अर्थ हुन्छ पदको कलम ।

नामको कामबारे पनि तपाईँ राम्रै जानकार हुनुहोला । म फलानाको मान्छे मात्र भन्नु पर्छ । नाम लिनेबित्तिकै तपाईँको काम भइहाल्छ । यतिसम्मकि तपाईँले धनुष्टंकारसम्म पनि टक्र्याउनु पर्दैन । अरुको त कुरै नगरौं । अहिले मलाई पुरानो कुराको याद आयो । मेरा कुनै मित्र काठमाडौँमा सानोतिनो जागिर खान्थे । परिवार धान्न गाह्रो भएकाले उनले सानो होजियारी खोल्ने बिचार गरेछन् र बैंकमा ऋण लिन धाएछन् । धेरैपटक धाउँदा पनि ऋण पाएनछन् । नपाउनाको कारण उनले धनुष्टंकार चढाएनन् । धनुष्टंंकार नचढाउनेले त अरु चढाउने कुरै भएन । तर, उनी सानो पदमा भए पनि दरबारमा काम गर्दारहेछन् । बाध्य भएर सानो पदको चिनारी दिएछन् । अब त के चाहियो र, तुरुन्तै उनको ऋण स्वीकृति भएछ । त्यसैले यहाँ जोड्न खोजिएको बिषय भनेको सानो भए पनि पद चाहिँदोरहेछ । अनि पो काम बन्दोरहेछ । त्यसमा पनि ठूलो पदको नाम तपाईंसँग भयो भने त सबै काम फत्तेसहितको आशीर्बाद पाउनु नै हुनेछ । यति भएपछि भै गयो नि । अब के चाहियो र ?

तपार्इंले जति ठूलो नाम लिन सक्नुभयो, त्यति चाँडो काम भइदिन्छ । तपाईं नाम दिन सक्नुहुन्न भने नाम खोजीदिने मान्छेहरु पनि सजिलै उपलब्ध हुन्छन् । अचेल त सरकारै सरकार छन्, ७६१ ओटा । यति ठूलो सरकार चलाउने हातहरु कति होलान् । तपाईँ आफैँ अनुमान गर्नुहोस् । सयौँ होइन हजारौं । अनि यति धेरै हातहरुले तपाईँले चाहेको नाम कसैकसैले खोजीदिने भइहाले । नाम पत्ता लगाउनेले नै तपार्इँको सबै काम फत्ते गरिदिनेछन् । यसको लागि तपाईँले पनि त उनीहरुको लागि केही गरी दिनुप¥यो नि । कि होइन ?

तपाईँ हामीले धेरै कुरा बुझेका छौं, जानेका छौं, अनुभव गरेका छौं । यो पनि तथ्य हो कि तपाईं हामीको योग्यता, दक्षता, अनुभवले केही काम गर्दैन । काम नगरेपछि नामको पछाडि लागेर सानै भए पनि काम त गराउनै प¥यो नि । त्यसैले हामी लागिरहेका छौँ, बाँच्नका लागि । यसरी नै बर्षौँदेखि चलिआएको छ र अझै कति वर्ष चल्ने हो । वर्ष मात्र किन जुगै चल्दै जानेछ । यस्तै मान्छेको भरिभराउ भएपछि तपाईं हामीको के उपाय हुन सक्ला र ? किन चाउरिस् मरिच आफ्नै पिरोले जस्तो अवस्था त छँदैछ ।

अन्त्यमा, यदि तपाईंले पदको कलमको महत्व बुझ्न सक्नुहुन्छ भने तपाईंलाई कुनै संकट नआउला । किनकि कलम बन्दुकभन्दा पनि शक्तिशाली हुँदोरहेछ । हो लाई होइन, होइनलाई हो बनाइदिने यो साधारण पाइलट पेन पनि । जसरी हवाई जहाजको पाइलटले आफ्नो जहाजको बाटो परिवर्तन गरेजस्तो । यो कलमले जे लेख्छ, त्यही नै सही अरे । तर, अब हामीले पदको कलमलाई विश्वास गर्नु हुँदैन । कलमले चाहेबमोजिम हामीले गर्न दियौं भने हामी बर्बादीमा पनि पर्न सक्छाँै । त्यसैले कलमभन्दा पनि यसलाई सञ्चालन गर्नेदेखि सधैँ होसियार हुनुपर्ने रहेछ ।

नामको काम पनि त्यस्तै अनौठो हुँदोरहेछ । तपाईँमा यदि आँट छ भने ठूला मान्छेको नाम लिनु होला । जस्तोसुकै काम पनि छिटो भइहाल्छ । तर, सधैँ यो सिद्धान्तले काम नगर्न पनि सक्दछ । त्यस बखतमा तपाईंलाई ठूलो फसाद आउने छ । त्यसबाट मुक्ति पाउन तपाईंले धेरै जोखिम मोल्नुपर्नेछ । धेरै कुरा गुमाउन सक्नु पर्दछ । नगुमाई उपायै छैन । तपाईँको मनले नमाल्ला । तर, तपाईंलाई बाध्यता छ ।

हो, त्यसैले म तपाईंलाई यो सल्लाह दिन्छु कि पदको कलम र नामबाट हुने कामलाई विश्वास नगर्नु होला । तपाईं आफैँ जानकार हुनुहुन्छ नि ?
(लेखक : नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्