
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा सम्पन्न निर्वाचन प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ ।
समानुपातिकतर्फका सांसदलाई विहान ११ बजे प्रमाणपत्र वितरण गरेपछि आयोगले आजै अपराह्न राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने भएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए ।
उनका अनुसार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ ।
आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ । गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । जसमा प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन् ।











