Logo
Logo

इरानका गुप्तचर मन्त्रीको मृत्यु भएको पुष्टि


567
Shares

काठमाडौं । इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबको मृत्यु भएको बताएका हुन् । उनले खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन् ।

साथै उनीहरूसँगै रहेका परिवारका सदस्य र अन्य व्यक्तिको मृत्युले देश शोकमा डुबेको समेत उल्लेख गरेका छन् । यसअघि इजरायलले हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो ।

इजरायली सेनाका अनुसार तेहरानमा लक्षित आक्रमण गरी उनलाई निशाना बनाइएको थियो । इजरायलले खातिब नेतृत्वको गुप्तचर मन्त्रालयले सरकारका दमनकारी गतिविधिमा भूमिका खेलेको आरोप लगाएको छ ।

हालका प्रदर्शनहरू दबाउन र प्रदर्शनकारीलाई पक्राउ तथा हत्या गर्न उनी संलग्न रहेको दाबी पनि गरिएको छ । इजरायलका रक्षामन्त्रीले पनि खातिब मारिएको पुष्टि गर्दै पछिल्लो आक्रमणलाई इरानका उच्च तहका अधिकारीविरुद्धको कारबाहीको निरन्तरता बताएका छन् ।

यसले इरानको सुरक्षा संयन्त्रमा ठूलो असर परेको दाबी गरिएको छ । इस्माइल खातिब सन् १९६१ मा जन्मिएका थिए । उनले धार्मिक शिक्षासँगै सुरक्षासम्बन्धी क्षेत्रमा लामो समय काम गरेका थिए ।

इरान–इराक युद्धका क्रममा उनले गुप्तचर क्षेत्रमा भूमिका सुरु गरेका थिए र क्रमशः उच्च पदसम्म पुगेका थिए । उनी सन् २०२१ मा गुप्तचर मन्त्री नियुक्त भएका थिए । पछि सन् २०२२ मा अमेरिकाले साइबर गतिविधिमा संलग्न रहेको आरोपमा उनीमाथि प्रतिबन्ध समेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्