Logo
Logo

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद


756
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन् । बालविवाह गरेर छोरीहरूले भोगेका पीडा उनले प्रत्यक्ष देखेकी थिइन् । 

The current image has no alternative text. The file name is: samsad-1.jpg

त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उनलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहिन, ‘पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।’ धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । 

उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित भएकी हुन् । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै भनिनन्, ‘मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनु ।’ उनका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरू रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन् । रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा छन् । अब पहिलो काम उनी बुबालाई घर फर्काउन चाहान्छिन् । ‘स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र ?’, उनले भनिनन् ‘स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरूलाई स्वदेशमै फर्काउन चाहन्छु ।’ कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ । 

संसद्मा सप्तरङ्गी उपस्थिति 

समानुपातिक तर्फ प्रमाणपत्र लिन आउनेमा मधेश प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रूपमा देखिएका छन् । टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आएकी  चितवनकी समिना मियाँले भनिनन्, ‘मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।’ 

भरतपुर महानगरपालिका-१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुन् । नर्सिङ पेसामा आबद्ध उनले रुपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफुले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताइन् । 

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य भएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि  राजनीतिक रूपमा सक्रिय थिइन् । उनले पहिलो पटक सांसद बनेकी हुन् । मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उनले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताइन् । उनले भनिनन्,’युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताइन् । रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जीले रास्वपाले घोषणा पत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताइन् ।  

लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहेका नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बनेका गणेश विश्वकर्माले संविधानमा उल्लेखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताए । रास्वपाका तर्फबाट समानुपातिक सांसद बनेकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । ‘वादी समुदायको बास छैन, गाँस पनि छैन’, उनले भनिनन्, ‘संसद्मा वादीको आवाज सुनाउँछु जस्ताको तस्तै र उनीहरूको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।’

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो । निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्