काठमाडौं । काठमाडौं जोड्ने छोटो दुरीको कान्तिलोक पथ सडक पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गतको गंगटेमा पहिरो खस्दा सडक आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेको समयमा मकवानपुर भीमफेदी-८ गंगटेस्थित कान्तिलोक पथ सडक खण्डमा बाटो माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडकको माथिल्लो भागबाट ढुङ्गा र ग्राभेल सहितको पहिरो खस्दा सडक बन्द भएकाले सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । हाल उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको र सडक खुलाउने प्रयास भइरहेको छ ।
स्थानीय तह र डिभिजन सडक कार्यालयसँगको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उक्त सडक बन्द गरी स्तरोन्नति कार्य भइरहेको छ ।
कान्तिलोक पथ सडक आयोजना मार्फत सो सडक चौडा पार्ने तथा कालोपत्रे गर्ने गरी मकवानपुर तर्फको खण्डमा काम भइरहेको छ । पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट ६ किलोमिटर उत्तर तर्फ पर्दछ ।











