Logo
Logo

‘घर भनेको मन्दिर हो, यसलाई सजाउनु नै मेरो खुसी’


प्राची दाहाल, आर्किटेक इन्जिनियर

189
Shares


पछिल्लो समय घर तथा कार्यालयलाई आकर्षक बनाउन इन्टेरियल डिजाइनको प्रयोग बढ्दो छ । यसप्रति युवापुस्ताको उत्साहजनक उपस्थित देखिएको छ । यही विषयमा दक्षता हासिल गरेर अगाडि बढेकी छिन् इन्टेरियल डिजाइनर प्राची दाहाल ।

हिमालय कलेजबाट आर्किटेक इन्जिनियरिङमा ब्याचलर गरेकी प्राची अहिले आफ्नै कम्पनी खोलेर अघि बढेकी छिन् । उनी अहिलेकी रोजाइकी इन्टेरियल डिजाइनर हुन् । बाल्यकालदेखिकै रुचिको काम गर्न पाउँदा खुसी लागेको उनी बताउँछिन् । उनी प्राची दाहालसँग रेजिना पाण्डेको जम्काभेट ।

अरूको घर सजाउन पाउँदा कतिको खुसी लाग्छ ?
मेरो काम नै अरूको घर सजाउने हो । धेरैले मलाई विश्वास गर्नुहुन्छ, जीवनको सबैभन्दा मूल्यवान् चीज घरको शृङ्गार पनि हो । घर भनेको मन्दिर हो । त्यसैले यो कामबाट म निकै खुसी छु ।

अहिलेसम्म कतिवटा प्रोजेक्ट गरिसक्नुभयो ?
काठमाडौंमा तीन दर्जनभन्दा बढी प्रोजेक्ट गरिसकेकी छु । जसमा होटेल, घर, क्याफे सबै छन् । थप अरू प्रोजेक्टहरूमा पनि हात हालिरहेकी छु ।

आर्किटेक इन्जिनियर र इन्टेरियल डिजाइनमा के फरक छ ?
आर्किटेक इन्जिनियरले घरको नक्सादेखि सजावटको सबै काम गर्छ भने इन्टेरियल डिजाइनको काम भने निश्चित हुन्छ । घरको वातावरणलाई सुन्दर बनाउन बगैँचा, किचेन, बेडरूम, फर्निचर सबै मिल्नुपर्छ । त्यो मिलाउने काम हाम्रो हो ।

तपाईंलाई यस क्षेत्रप्रति रुचि कसरी जाग्यो ?
यो कामप्रति मेरो अविस्मरणीय क्षण छ, हाम्रो घर बनाउने बेला बाबाले आर्किटेक इन्जिनियरलाई लिएर आउनुभएको थियो । उहाँले घरको बारेमा गरेको कुराबाट म प्रभावित भए । घरभित्र स–साना धेरै महत्त्वपूर्ण कुरा हुने रहेछ । जसलाई सजाउन सकियो भने बल्ल घरले पूर्णता पाउने रहेछ । त्यसैले आज म यो ठाउँमा छु ।

काम सुरु गर्न कतिको गाह्रो भयो ?
काम सुरु गर्न त गाह्रो नै भयो । पहिला पढाइ सकाएँ । सुरुमा आफन्तकोमा काम गर्दै गएँ । मेरो कामको प्रशंसा हुँदै गयो । बाबा बिजनेशम्यान भएकोले बाबामार्फत पनि धैरै कामहरू आए । आत्मविश्वास बढ्दै जादा आफ्नै कम्पनी खोलेर अहिले काम गरिरहेकी छु । जीवन सफल बनाउन आत्मविश्वास एकदमै जरुरी छ । त्यही आत्मविश्वासले म सफल हुँदै अगाडि बढेकी छु ।

आफ्नै कम्पनी खोलेर रोजगारी दिनुभएको छ, कतिको गर्व लाग्छ ?
म सधैँ सोचिरहन्थेँ, राम्रो बिजनेश वुमन बनौँ । केही हदसम्म सफल भएकी छु । भर्खर दुई वर्ष भयो यो काम थालेको । अझ धेरै योजनाहरू बनाउँदै छु । मास्टर पनि यही विषयमा गर्दै छु । कम्पनीलाई अझ राम्रो बनाउने र थप कर्मचारी राख्ने योजना बनाएकी छु ।

आर्किटेक इन्टेरियलप्रति युवाहरूको झुकाव हुनुको कारण के हो ?
पहिले पनि समयअनुसार यसमा रुचि राख्नेहरूको संख्या बढ्दै छ । अहिले समयअनुसार डिमान्ड बढेको छ । व्यक्तिको च्वाइस पनि बढेको छ । यही विषय पढाउने कलेज पनि धेरै खुलेका छन् । पछिल्लो समय घर तथा विल्डिङ र सडक हरेक चिज नयाँनयाँ बनिरहेका छन् । त्यसैले पनि युवाहरूको झुकाव बढेको छ ।

अरूको धेरै घर डिजाइन गर्नुभयो । आफ्नो घरचाहिँ कतिको सजाउनुहुन्छ ?
मलाई घर सजावट मनपर्छ । म गरिरहको नै हुन्छु । घरमा नयाँपन र आकर्षण केही देखियोस भनेर नयाँनयाँ योजना बनाइरहेकै हुन्छु । वास्तुशास्त्रमा पनि बढी ध्यान दिने भएकाले योजनाअनुसार नै चल्छु ।

तपाईं प्रायः कस्ता डिजाइन मन पराउनुहुन्छ ?
मलाई चाहिँ नेचरकला नै मनपर्छ । तर, हामी ग्राहककै रुचिमा काम गर्छौँ । ग्राहकलाई सल्लाह पनि त्यसरी नै दिन्छौँ ।

प्रतिक्रिया दिनुहोस्