Logo
Logo

श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने


630
Shares

काठमाडौं । सात सिट जितेको हर्क साम्पाङको श्रम संस्कृति पार्टी र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा प्रमुख सचेतक नपाउने भएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट श्रम संस्कृतिले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको छ भने राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट जितेको छ ।

दुबै पार्टीले राष्ट्रिय दलको मान्यता पाएपनि पार्टीका प्रमुख सचेतकले भने सरकारले दिने सुविधा नपाउने भएका हुन् । संघीय संसद सचिवालयका अनुसार कुनै पनि पार्टीका प्रमुख सचेतकले संसदबाट सुविधा लिन कम्तिमा १० जना सांसद हुनुपर्ने नियम रहेको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउने उल्लेख छ ।

यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’


संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्ने व्यवस्था छ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद छन् । यी चार दलका प्रमुख सचेतकले भने सुविधा पाउनेछन् ।

यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीलाई सुबिधा नदिने भए मन्त्रीहरुले पनि सुबिधा लिन नपाउने भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुबिधा नदिने हो भने मन्त्रीहरुले पनि सुबिधा नलिनु होला, सुरक्षाकर्मी पनि नलिनु, आफै हिँड्नु, काम छैन ।’

प्रतिक्रिया दिनुहोस्