काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ‘जेनजी आन्दोलन जाँचबुझ आयोगले’ नेपाली सेनाका चार कमान्डरलाई कारबाही सिफारिस गरेको छ ।

सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट चार स्थानमा खटिएका टोली कमान्डरहरुलाई कारबाही सिफारिस गरेको हो ।
कारबाही सिफारिसमा पर्नेहरुमा राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी गणेश खड्का (जिल्ला सुरक्षा समितिको सदस्य समेत रहेका) र संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन परिसर बानेश्वरमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, सेनानी सन्तोष ढुङ्गेललाई कारवाही सिफारिस गरेको हो ।
उनीहरुविरुद्ध सैनिक ऐन २०६४को दफा १०५ अनुसार कारबाही सिफारिस भएको छ । आयोगको प्रतिवेदनमा भनिएको छ, “माथि उल्लेखित चार स्थलहरुको सुरक्षा गर्न नसकेकोमा ती परिसरमा सुरक्षाको लागि खटिएका नेपाली सेनाका कमान्डरहरु उपर कानूनी कारबाहीको लागि सैनिक ऐन, २०६३ को दफा १०५ आकर्षित हुन आउने देखिन आयो ।”











