
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले जेनजी आन्दोलनलाई तत्काल उक्साएको भए पनि २४ गते आन्दोलनको स्वरूप बदलिएको र गलत तत्वहरुले यसलाई दुरुपयोग गरेको बयान जाँचबुझ आयोगलाई दिएका छन् ।
प्रचण्डले काठमाडौंमा आफ्नो निजी घर नभएको र आफू भाडाको निवासमा बस्दै आएको भन्दै भदौ २४ गते भाडाको सोही निवास र चितवनको घरमा तोडफोड तथा आगजनी भएको भएको र त्यो आक्रमण व्यवस्थामाथि नै गरिएको नियोजित प्रहार भएको धारणा आयोग समक्ष राखेका छन् ।
‘सिंहदरबार, शीतलनिवास र संसद् भवन जस्ता संवेदनशील ठाउँमा भएको आक्रमण केवल सरकारविरुद्धको आक्रोश मात्र नभई लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रयास हो,’ उनले बयानमा भनेका छन् ।
आफ्नो पार्टीले जेन जी आन्दोलनको भावनालाई समर्थन गरे पनि कुनै प्रकारको हिंसात्मक गतिविधिमा संलग्नता नरहेको प्रस्टीकरण उनको छ । ‘यदि हाम्रो पार्टीका कोही व्यक्ति कानुनविपरीतका कार्यमा संलग्न भएको प्रमाणित भए, उसले कानुनी कारबाही भोग्नुपर्छ,’ आयोगको बयानमा प्रचण्डले भनेका छन् । आन्दोलनमा भएको घुसपैठतर्फ संकेत गर्दै उनले भदौ २४ गते नै युवाहरूले घर फर्किन आग्रह गरेको तथ्य अघि सारेका छन् ।
आन्दोलनका क्रममा छोरी गंगा दाहालको घरमा अवैध नगद भेटिएको भनी गरिएको प्रचार पूर्णतः निराधार र कपोलकल्पित भएको बयान प्रचण्डको छ । उनले आफू र आफ्नो परिवारले कुनै पनि अवैध आयस्रोतबाट आम्दानी नगरेको समेत भनेका छन् ।
प्रचण्डले भदौ २३ गते भएको दमनको भत्र्सना गर्दै आन्दोलनकारीलाई शहीद घोषणा गर्न आफूले सार्वजनिक अपिल गरेको र २४ गते सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भएको जानकारीसमेत गराएका छन् ।











