
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’मा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको छ ।
गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीको बयान समेटेको हो । जसमा सुरक्षाकर्मीबाट बिना चेतावनी निहत्था नागरिकमाथि ‘ताकी–ताकी’ गोली प्रहार गरेको दाबी गरिएको छ ।
घाइतेहरूले बयानमा शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली चलाएको बताएका छन् । जसमध्ये अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बयान दिएका छन् ।
भर्खरै एमबीबीएसको प्रवेश परीक्षा पास गरेर बसेकी १७ वर्षीया एकता शाहले आफू बानेश्वरमा प्रदर्शन हेरिरहेको बेला दायाँ घुँडामा रबर बुलेट लागेर गम्भीर घाइते भएको बयान दिएकी छन् ।
त्यस्तै कुमार उपाध्यायले आफ्नो घरको छतमा उभिएर हेरिरहेको अवस्थामा प्रहरीले चलाएको गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बताएका छन् । अर्का घाइते राम चर्माकारले कलंकीमा सुरक्षाकर्मीले १५÷२० मिटरको दुरीबाट बिना चेतावनी हानेको गोली सिधै आफ्नो आँखामा लागेको बयान दिएका छन्।
गीता कुमारी शाहको बयान अलि फरक छ । भदौ २४ गते कोटेश्वरमा आन्दोलनकारीको भेषमा आएका उग्र समूहले एक जना प्रहरी हवल्दारलाई मार्न खोजेपछि गीताले ती प्रहरीलाई बचाउन खोजेकी थिइन् । तर, ती आक्रमणकारीले गीताकै शरीरमा पेट्रोल जस्तो तरल पदार्थ छर्केर आगो लगाइदिए । जसका कारण उनको शरीरको ४० प्रतिशत भाग जलेको र उनी अझै उठबस गर्न नसक्ने अवस्थामा रहेको बयानमा उल्लेख छ ।
आयुष वि.क., लोकराज उपाध्याय, सुरेन्द्रजंग थापा, स्मृति राईलगायत २८ जना घाइतेले एकमुष्ट रूपमा भनेका छन्, ‘२३ गते हाम्रो आन्दोलन स्वतः स्फूर्त र शान्तिपूर्ण थियो । तर २४ गते बाहिरबाट घुसपैठियाहरू प्रवेश गरी तोडफोड मच्चाए र राज्यले त्यही बहानामा निर्दोष युवाहरूमाथि गोली वर्षायो ।’











