काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसद्को सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले आज बिहीबार पशुपतिनाथको दर्शन गरेका हुन् ।

दर्शनपश्चात् शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए । उनले भने, “हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौँ भन्ने कामनाका साथ यहाँ आएका हौँ ।”
उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे । ‘यही संसद्बाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,’ उनले भने ।
राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरू संसद् प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन् ।











