काठमाडौं । दक्षिण कोरिया जान लागेका सर्वसाधारणलाई अध्यागमन विभागको ‘सेटिङ’ मिलाइदिने भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोगमा लमजुङ घर भएका जगत गुरुङलाई बुधबार अध्यागमन विभागले नियन्त्रणमा लिएको हो।

अध्यागमन विभाग र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले के एण्ड सी इन्टरनेशनल प्रालिका ४७ वर्षीय जगत गुरुङलाई लाजिम्पाटस्थित उनकै कार्यालयबाट १ लाख रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
सोलुखुम्बुको दुधकुण्ड(२ का मिङ्मार दोर्जे शेर्पा र उनकी श्रीमती दावा जाङ्मु लामा डी–८ (लगानीकर्ता) भिसामा कोरिया जाने तयारीमा थिए। उनीहरूलाई कोरियामा व्यवसाय गर्दै आएकी मिङ्मारकी बहिनीले नै लैजाने प्रक्रिया अगाडि बढाएकी थिइन्।
गत फागुन १४ गते कोरियाली दूतावासमा कागजात बुझाउने क्रममा उनीहरूको भेट ‘नवीन’ नामका व्यक्तिसँग भयो। नवीनले नै उनीहरूलाई जगत गुरुङसँग सम्पर्क गराएका थिए। जगतले डी–८ भिसामा जाँदा अध्यागमनले रोक्छ, सेटिङ मिलाउनुपर्छ’ भन्दै डर देखाएर रकमको बार्गेनिङ सुरु गरेका थिए।
गुरुङले उनीहरुलाई भनेका थिए, ‘त्रिविवि अध्यागमन कार्यालयको सेटिङ मिलाएर मात्र त्यस्तो श्रम भिसामा जान सकिन्छ नत्र अध्यागमनले फर्काइदिन्छ। तपाइँको टिकट पनि खेर जान्छ ।’ अध्यागमनको सेटिङमा मात्र यस्तो भिसामा जान मिल्छ भनेपछि यात्रुहरु सो सम्बन्धमा अध्यागमन विभागमा उजूरी गरेका थिए। त्यति धेरै पैसा आफुसँग नभएको भनेपछि १० हजार कम भएपनि काम गरिदिने जानकारी गराएको पीडितले बताए। अध्यागमन विभागमा उजूरी परेपछि अध्यागमन विभागले निजलाइ नियन्त्रणमा लिन नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहयोग मागेको थियो।
चैत १३ गते (भोलि) का लागि थाइ एयरवेजको टिकट काटिसकेका उनीहरूलाई प्रतिव्यक्ति १ लाख १० हजारका दरले २ लाख २० हजार रुपैयाँ मागेका थिए। अन्ततः १ लाख रुपैयाँ आज बुझाउने र बाँकी भोलि दिने सर्तमा कुरा मिलाएका थिए ।
जगतले बारम्बार रकम मागेर तनाव दिएपछि मिङ्मारले यसबारे एक चिनिएका कर्मचारीसँग परामर्श गरे। ती कर्मचारीको सल्लाहमा उनी आज बिहानै अध्यागमन विभाग पुगेर महानिर्देशक रामचन्द्र तिवारीलाई सबै वृत्तान्त सुनाए। महानिर्देशक तिवारीले घटनाको गम्भीरता बुझेलगत्तै सीआईबीसँग समन्वय गरी सादा पोसाकमा प्रहरी खटाए। लाजिम्पाटस्थित कार्यालयमा मिङ्मारबाट १ लाख रुपैयाँ बुझ्दै गर्दा प्रहरीले जगतलाई रंगेहात समात्न सफल भयो। अध्यागमन विभागले पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।
यसैबीच, छोटो अवधि (६ देखि ८ महिना) का लागि दक्षिण कोरिया कामदार पठाउने विषयमा विभिन्न स्थानीय तहहरूले सम्झौता गरिरहेको अवस्थामा यस्तो ठगी घटना सार्वजनिक भएको हो। सामान्यतया एक वर्षभन्दा कम अवधिको भिसामा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नदिने भए पनि अध्यागमनले प्रस्थान अनुमति दिँदै आएको छ।
गृह मन्त्रालयले पछिल्लो समय भिजिट भिसामा हुने ठगी नियन्त्रण गर्न ६ बुँदे मापदण्ड परिमार्जन गर्दै सम्बन्धित देशको भिसा, ६ महिना वैध राहदानी र हवाई टिकट भएमा मात्र प्रस्थान अनुमति दिने व्यवस्था गरेको छ।
अध्यागमन विभागका प्रवक्ता टिकराम ढकालका अनुसार भिजिट भिसामा यस्तै विचौलिया मौलाएको र सर्वसाधारणको विदेश भ्रमण महँगो परेको गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड परिमार्जन गरी सम्बन्धित मुलुकको भिसा, ६ महिना वैध अवधी भएको राहदानी र गन्तव्य मुलुकसम्मको हवाई टिकट पेश गरेमा पर्यटक भिसामा प्रस्थान गर्न सकिने व्यवस्था गरेको छ।
यसका अतिरिक्त भिजिट भिसामा जाँदा स्वघोषणा भने गर्नुपर्छ। साविकमा भिजिट भिसामा अन्य मुलुक प्रस्थान गर्न यसका अतिरिक्त दुई तर्फी हवाई टिकट, होटल बुकिङ र ५०० अमेरिकी डलर बराबरको विदेशी परिवर्त्य मुद्रा आवश्यक पर्ने व्यवस्था थियो।











