
अमेरिकाले इरानमाथि हमला गर्नुभन्दा दुई दिनअघि जीबुटीस्थित सैन्य अखडाबाट दुईवटा युद्धक विमानले श्रीलंकामा अवतरणका लागि अनुमति माग्दा नदिएको खुलासा गरेको छ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिशानायकेले । युद्धका लागि हिन्द महासागर र अरब सागरमा विमानबाहक जहाज देखि युद्धपोतहरु इरानतर्फ बढाइरहेको बेला श्रीलंकाले उक्त कदम चालेको थियो । अमेरिकाले इरानमाथि कुनैपनि बेला हमला गर्ने संकेतहरु देखापरेको थियो । तर, दक्षिण एसियाली क्षेत्रमा सैन्य अखडाहरू नहुँदा र युद्धक विमान अवतरणको अनुमति नपाएपछि अमेरिकालाई चुनौती छँदै थियो, युद्धको सुरुवाती चरणमा अमेरिकाले इरानको नौसैनिक जहाज हिन्द महासागरको श्रीलंकाली तट नजिकै डुबाइदियो । यो घटनाले भारत र श्रीलंका दुवैलाई अप्ठ्यारो पारिदियो ।
भिसाकापत्नममा नौसैनिक अभ्यास क्रममा पुगेको इरानी जहाजहरु हिन्द महासागर हुँदै फर्कदै थिए । तीमध्ये एउटा अमेरिकी हमलामा परेपछि ८० जना मारिएका थिए । ३२ जना घाइतेको श्रीलंकामा उपचार भयो । अर्को युद्धपोत श्रीलंकाको बन्दरगाहमा आपतकालिन रूपमा राखियो । यी घटनाले दक्षिण एसियामा अमेरिकी सैन्य उपस्थितबारे चासो बढेको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना हटेपछि दक्षिण एसियामा कहीं कतै अमेरिकी सैन्य अखडा छैनन् । उसले मालदिभ्सभन्दा केही दूरीमा बेलायतले प्रयोग गर्दै आएको हिन्द महासागरको डियगो गार्सियास्थित सैन्य अखडा प्रयोग गर्दै आएको छ । तर, त्यहाँ इरानले ४ हजार किलोमिटर दूरीबाट दुई वटा मिसाइल प्रहार गरिदिएको छ । ती मिसाइलमध्ये एउटा बीच आकाशमै खसालिएको र अर्को सैन्य अखडा नजिकै पुग्दा निष्क्रिय पारिदिएको खबर छ ।
इरान युद्धमा जहाँ जहाँ अमेरिकी सैन्य अखडाहरू छन् त्यहाँ त्यहाँ आक्रमणहरू भएका छन् । खाडी देशहरू साउदी अरब, युएई, बहराइन, कतार, ओमान, कुवेत जस्ता देशहरूमा रहेका अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको छ । जसले अमेरिकालाई सैन्य अखडा दिएको छ र आक्रमणमा सहयोग पु¥याइरहेको छ त्यसलाई दुस्मन घोषणा गरेर आक्रमण गर्ने देखि स्ट्रेट अफ हर्मुज नै प्रयोग गर्न नदिने घोषणा इरानले गरेको छ । युद्धको यो परिस्थितिमा दक्षिण एसियामा अमेरिकी सैन्य अखडा या कुनै प्रकारको सैन्य उपस्थिति हुन्थ्यो भने मिसाइलको असर यस क्षेत्रमा पनि पर्न सक्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । तेल र ग्यासको ढुवानीमा युद्धग्रस्त क्षेत्रमा जुन अवरोध चलिरहेको छ त्यसको अझ बढी मार दक्षिण एसियालाई पर्न सक्थ्यो । त्यसैले श्रीलंकाका राष्ट्रपतिले कूटनीतिक चार्तुयता देखाएर आफ्नो देशले अमेरिकाको आग्रहका बाबजुद युद्धक विमान रोक्न नदिएको विषय उजागर गरिदिए ।
अमेरिकी सैन्य अखडा
क्याथरिन लुजले एसिया प्यासिफिक जर्नलमा सन् २००९ मा प्रकाशित अनुसन्धानात्मक लेखमा अमेरिकी सैन्य अखडा र साम्राज्यबारे उल्लेख गरेकी छिन् । झण्डै दुई लाख अमेरिकी सैनिक र एक लाखभन्दा बढी कर्मचारी ४६ देशमा खटिएको तथ्यांक प्रस्तुत गरेकी छिन् । अमेरिकी प्राध्यापक डेभिड भीनले सन् २०२१ मा सँसारभर ७५० अमेरिकी सैन्य अखडाहरू ८० देशमा रहेको तथ्यांक प्रस्तुत गरेका थिए । त्यो संख्या अझ बढी हुनसक्ने तर्क गरिएको छ ।
लुजका अनुसार अमेरिकी गैरसैनिक र सैन्य अखडाहरुको भौतिक सम्पत्तिमात्र डेढ सय अर्ब डलरभन्दा बढी हुन आउने आकलन छ । अमेरिकाले वार्षिक १८० देशका एक लाख सैनिकहरुलाई तालिम पनि प्रदान गर्दछ । विश्वभर सैनिक अखडा देखि सैन्य प्रभाव रहेकाले पनि अमेरिका विश्व महाशक्ति बन्न सकेको हो । उसले ठूलो धनराशी खर्च गर्नुका साथै, सैन्य प्रभाव बनाएर विश्वभर राजनीतिक, अर्थतन्त्र, कानून र विदेश नीतिहरुमा प्रत्यक्ष अप्रत्यक्ष नियन्त्रण कायम गर्दछ । उसले जहाँ जति सैन्य खर्च गरिरहेको हुन्छ त्यहाँकै स्रोतबाट पूर्ति गर्दछ । अमेरिकाले खाडी देशहरूमा सैन्य खर्च जति गरेको छ त्योभन्दा बढी अमेरिकी कम्पनीहरू खडा गरेर आम्दानी गरिरहेछ । इरान युद्धमा खाडीका कतिपय मुलुकलाई २० अर्ब डलर बराबरको हतियार बेच्ने भइसकेको छ ।
एसियामा अमेरिकी सैन्य प्रभाव कति मजबुत छ भन्ने जापान, दक्षिण कोरियाका अलावा खाडीका अधिकांश मुलुकमा भएका अमेरिकी सैन्य अखडाहरूबाट छर्लङ्ग छ । चीनसँग नजिक रहेका साउथ चाइना सिसँग नजिक रहेका फिलिपिन्सदेखि कतिपय सैन्य अखडामा पहुँचको अनुमति छ । सन् २०११ मा अफगानिस्तानमा बग्राम देखि कान्दाहारसम्म १० अमेरिकी सैन्य अखडाहरूमा एक लाख सैनिक थिए । पेन्टागनको रिपोर्टमा अफगानिस्तान युद्धमा १० लाखभन्दा बढी अमेरिकी सैनिक संलग्न रहिसकेको उल्लेख थियो । सन् २०२१ मा तालिवान पुनः सत्तामा आएपछि अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएपछि दक्षिण एसियामा कहीं कतै प्रत्यक्ष अमेरिकी सैनिक अखडा छैन । पाकिस्तानमा अमेरिकी सैनिकको बलियो पहुँच रहेको रिपोर्टहरूमा उल्लेख छ । आतंकवादविरुद्धको लडाईँमा अमेरिकाले पाकिस्तानलाई अरबौँ डलर सहयोग गरेको तथ्य छ । सन् २०२५ मा ६८ करोड डलरको सैन्य सहयोगको प्याकेज घोषणा गरेको छ ।
दक्षिण एसियाको अवस्था
यथास्थितिमा दक्षिण एसियामा अमेरिकी सैन्य अखडा मात्र नभएको होइन, प्रयोगको अनुमति पनि छैन । हिन्द महासागरमा एकमात्र सैन्य अखडा डिएगो गार्सियामा छ उसको । मैरिससको उक्त टापु १९७० को दशकदेखि बेलायत र अमेरिकाले प्रयोग गर्दै आएको थियो । डिएगो गार्सियाको सैन्य अखडा अर्को ९९ वर्षसम्म प्रयोग गर्ने सम्झौता मौरिसससँग भइसकेको छ । मालदिभ्सबाट ७२६ किलोमिटर दूरीमा पर्ने अमेरिकी सैन्य अखडा सामिरक महत्वको क्षेत्र हो जहाँबाट सोमालिया, इन्डोनेशिया पनि नजिक पर्दछन् ।
दक्षिण एसिया क्षेत्रको बंगालको खाडीमा अमेरिकाले सैन्य अखडा राख्न खोजेको विषय नउठेको होइन । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सेन्ट मार्टिन टापुमा सैन्य अखडा राख्न दिन अमेरिकाले प्रस्ताव गरेको र बदलामा शक्तिमा टिकाइराख्ने भनेको दाबी गरेकी थिइन् । उक्त प्रस्ताव अस्वीकार गर्नु नै सत्ताबाट हट्ने कारण बन्यो । उक्त कुरा पूर्वप्रधानमन्त्री शेख हसिना र उनका निकटस्थहरूले सार्वजनिक रूपमा भन्दै आएका छन् । बगालको खाडीको उत्तरपूर्णमा अवस्थित ३ वर्गकिलोमिटरको सानो टापु रणनीतिक महत्वको छ, जहाँबाट म्यानमार र पूर्वात्तर भारतका राज्यहरु नजिक छन् । चीनको बढ्दो सैन्य उपस्थितिपछि अमेरिकाले बंगलादेशमा चासो बढायो । उसले चित्तगोङ बन्दरगाहमा चासो मात्र राखिरहेको छैन पहुँच पनि बढाइरहेको छ ।
अमेरिकाले दक्षिण एसियाली देशहरूमा प्रतिरक्षा साझेदारीका परियोजनाहरू चलाइरहेको छ । सन् २०२५ मा अमेरिका र भारतबीच १० वर्षको प्रतिरक्षा साझेदारीमा सहमत भयो । जसमा सैन्य अभ्यास, प्रविधिको आदानप्रदान, संयुक्त उत्पादन उल्लेख छन् । सन् २०१९ मा अमेरिकी रक्षा मन्त्रालयको इन्डो प्यासिफिक रणनीतिसम्बन्धी रिपोर्टमा नेपालसहित दक्षिण एशियाका देशहरू भारत, श्रीलंका, बंगलादेश र मालदिभ्ससँग प्रतिरक्षासम्बन्धी सहकार्यबारे खुलाइएको छ । नेपालसँग प्रतिरक्षा सम्बन्धलाई विस्तार गर्न चाहेको कुरा पनि उल्लेख छ ।
उसले नेपालका लागि सुरक्षा सहयोगमा वृद्धि पनि गरेको छ । अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) परियोजना ल्याउन लागेकोमा चासो र चर्चा छ । अमेरिकाले यसलाई सुरक्षा वा सैन्य गठबन्धन नभएको भनेको छ । बंगलादेशमा लागू भएको एसपीपी परियोजना अन्तर्गत द ओरिगन नेस्नल गार्ड ओआरएनजी ले बंगलादेशको शान्ति सहयोग अपरेशन संस्थालाई टाइगर लाइटनिङ अभ्यासमा सहयोग पु¥याएको भनिएको छ । तर, एसपीपी परियोजना बंगलादेशमा लागू भएपछि सैन्य अखडाको प्रस्ताव शेख हसिनाले अस्वीकार गर्नु अर्थपूर्ण विषय हो । बंगलादेशमा अमेरिकी सैन्य अखडा दिन अस्वीकार गरेकी हसिनाको सरकार ढल्नु र उनले भारतमा शरण पाउनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
दक्षिण एसियामा चीन, अमेरिका या पश्चिमा देशको सैन्य गतिविधि भारतका लागि चिन्ताको विषय बन्ने गरेको छ । विश्वका सबैजसो क्षेत्रमा अमेरिकाको सैन्य अखडा छ । दक्षिण एसिया मात्र त्यस्तो क्षेत्र हो जहाँ उसको सैन्य अखडा छैन । यसको मुख्य कारण नै भारत र चीन हुन् । २१ औँ शताब्दीमा यी दुईले व्यापक शक्ति सञ्चय गरेबाट यो क्षेत्रमा अमेरिकी सैन्य अखडा रहन पाएको छैन । बरु चीनको वरिपरिका क्षेत्रहरू जापान, दक्षिण कोरियामा अमेरिकी सैन्य अखडाहरू छन् । ताइवान नजिकैको फिलिपिन्सका सैन्य अखडामा अमेरिकाले पहुँचको अनुमति पाएको छ । तर, चीनसँगै भारतको द्रुत शक्तिवृद्धि अमेरिकाको चासोमा परेको छ ।
अमेरिकाले दक्षिण एसियामा विभिन्न रणनीति चालेर रणनीतिक प्रभाव बढाउन खोजेको छ । सैन्य अखडा राखेर होस् या सैन्य साझेदारी या सहकार्यमार्फत् । यस्ता कदमहरू तत्काल या दीर्घकालीन रूपमा राष्ट्रको हितमा हुन्छ कि हुँदैन विचारणीय विषय हुन् ।
दक्षिण एसियामा हदभन्दा बढी अमेरिकाको सैन्य गतिविधि चीन र भारत जस्ता शक्तिले चुनौती देख्ने गरेका छन् । चीनका लागि तिब्बत मामला र भारतका लागि काश्मीर देखि पूर्वोत्तर राज्यहरूको विषय सुरक्षा दृष्टिले संवेदनशील हुन् । तेस्रो शक्तिले संवेदनशीलतामा खेल्ने गरेको छर्लङ्ग छ । यही कारणले कुनै न कुनै रूपमा यस क्षेत्रमा हुनसक्ने सम्भावित प्रोक्सी युद्धको खतरा औँल्याइन्छ । जसले राजनीतिक अस्थिरता, आर्थिक संकट हुँदै हिंसात्मक द्वन्द्वमा कमजोर मुलुकहरू फस्न सक्छन् ।
अमेरिका र रुसको प्रोक्सी युद्धले लामो युद्ध र संकटमा फसेको अफगानिस्तान सटिक उदाहरण हो । विदेशी सैन्य गतिविधि बढ्दै सैन्य अखडामा परिणत हुँदा मुलुक अफगानिस्तान जस्तै दसकौँ लामो युद्ध र अशान्तिको दलदलमा भासिन्छ भन्ने प्रमाणित भइसकेको छ । महाशक्ति बन्ने दिशामा उन्मुख चीन र भारत जस्ता देशहरूलाई सन्तुलनमा राख्नुको साटो चिढ्याउने गरी उनीहरूका प्रतिस्पर्धी शक्तिको सैन्य गतिविधिको आकर्षणमा पर्नु मुलुकका लागि घातक हुनसक्छ ।











