Logo
Logo

अमेरिकी सैन्य रणनीतिको जालो


डा. दीपेश केसी

378
Shares


अमेरिकाले इरानमाथि हमला गर्नुभन्दा दुई दिनअघि जीबुटीस्थित सैन्य अखडाबाट दुईवटा युद्धक विमानले श्रीलंकामा अवतरणका लागि अनुमति माग्दा नदिएको खुलासा गरेको छ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिशानायकेले । युद्धका लागि हिन्द महासागर र अरब सागरमा विमानबाहक जहाज देखि युद्धपोतहरु इरानतर्फ बढाइरहेको बेला श्रीलंकाले उक्त कदम चालेको थियो । अमेरिकाले इरानमाथि कुनैपनि बेला हमला गर्ने संकेतहरु देखापरेको थियो । तर, दक्षिण एसियाली क्षेत्रमा सैन्य अखडाहरू नहुँदा र युद्धक विमान अवतरणको अनुमति नपाएपछि अमेरिकालाई चुनौती छँदै थियो, युद्धको सुरुवाती चरणमा अमेरिकाले इरानको नौसैनिक जहाज हिन्द महासागरको श्रीलंकाली तट नजिकै डुबाइदियो । यो घटनाले भारत र श्रीलंका दुवैलाई अप्ठ्यारो पारिदियो ।

भिसाकापत्नममा नौसैनिक अभ्यास क्रममा पुगेको इरानी जहाजहरु हिन्द महासागर हुँदै फर्कदै थिए । तीमध्ये एउटा अमेरिकी हमलामा परेपछि ८० जना मारिएका थिए । ३२ जना घाइतेको श्रीलंकामा उपचार भयो । अर्को युद्धपोत श्रीलंकाको बन्दरगाहमा आपतकालिन रूपमा राखियो । यी घटनाले दक्षिण एसियामा अमेरिकी सैन्य उपस्थितबारे चासो बढेको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना हटेपछि दक्षिण एसियामा कहीं कतै अमेरिकी सैन्य अखडा छैनन् । उसले मालदिभ्सभन्दा केही दूरीमा बेलायतले प्रयोग गर्दै आएको हिन्द महासागरको डियगो गार्सियास्थित सैन्य अखडा प्रयोग गर्दै आएको छ । तर, त्यहाँ इरानले ४ हजार किलोमिटर दूरीबाट दुई वटा मिसाइल प्रहार गरिदिएको छ । ती मिसाइलमध्ये एउटा बीच आकाशमै खसालिएको र अर्को सैन्य अखडा नजिकै पुग्दा निष्क्रिय पारिदिएको खबर छ ।

इरान युद्धमा जहाँ जहाँ अमेरिकी सैन्य अखडाहरू छन् त्यहाँ त्यहाँ आक्रमणहरू भएका छन् । खाडी देशहरू साउदी अरब, युएई, बहराइन, कतार, ओमान, कुवेत जस्ता देशहरूमा रहेका अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको छ । जसले अमेरिकालाई सैन्य अखडा दिएको छ र आक्रमणमा सहयोग पु¥याइरहेको छ त्यसलाई दुस्मन घोषणा गरेर आक्रमण गर्ने देखि स्ट्रेट अफ हर्मुज नै प्रयोग गर्न नदिने घोषणा इरानले गरेको छ । युद्धको यो परिस्थितिमा दक्षिण एसियामा अमेरिकी सैन्य अखडा या कुनै प्रकारको सैन्य उपस्थिति हुन्थ्यो भने मिसाइलको असर यस क्षेत्रमा पनि पर्न सक्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । तेल र ग्यासको ढुवानीमा युद्धग्रस्त क्षेत्रमा जुन अवरोध चलिरहेको छ त्यसको अझ बढी मार दक्षिण एसियालाई पर्न सक्थ्यो । त्यसैले श्रीलंकाका राष्ट्रपतिले कूटनीतिक चार्तुयता देखाएर आफ्नो देशले अमेरिकाको आग्रहका बाबजुद युद्धक विमान रोक्न नदिएको विषय उजागर गरिदिए ।

अमेरिकी सैन्य अखडा
क्याथरिन लुजले एसिया प्यासिफिक जर्नलमा सन् २००९ मा प्रकाशित अनुसन्धानात्मक लेखमा अमेरिकी सैन्य अखडा र साम्राज्यबारे उल्लेख गरेकी छिन् । झण्डै दुई लाख अमेरिकी सैनिक र एक लाखभन्दा बढी कर्मचारी ४६ देशमा खटिएको तथ्यांक प्रस्तुत गरेकी छिन् । अमेरिकी प्राध्यापक डेभिड भीनले सन् २०२१ मा सँसारभर ७५० अमेरिकी सैन्य अखडाहरू ८० देशमा रहेको तथ्यांक प्रस्तुत गरेका थिए । त्यो संख्या अझ बढी हुनसक्ने तर्क गरिएको छ ।

लुजका अनुसार अमेरिकी गैरसैनिक र सैन्य अखडाहरुको भौतिक सम्पत्तिमात्र डेढ सय अर्ब डलरभन्दा बढी हुन आउने आकलन छ । अमेरिकाले वार्षिक १८० देशका एक लाख सैनिकहरुलाई तालिम पनि प्रदान गर्दछ । विश्वभर सैनिक अखडा देखि सैन्य प्रभाव रहेकाले पनि अमेरिका विश्व महाशक्ति बन्न सकेको हो । उसले ठूलो धनराशी खर्च गर्नुका साथै, सैन्य प्रभाव बनाएर विश्वभर राजनीतिक, अर्थतन्त्र, कानून र विदेश नीतिहरुमा प्रत्यक्ष अप्रत्यक्ष नियन्त्रण कायम गर्दछ । उसले जहाँ जति सैन्य खर्च गरिरहेको हुन्छ त्यहाँकै स्रोतबाट पूर्ति गर्दछ । अमेरिकाले खाडी देशहरूमा सैन्य खर्च जति गरेको छ त्योभन्दा बढी अमेरिकी कम्पनीहरू खडा गरेर आम्दानी गरिरहेछ । इरान युद्धमा खाडीका कतिपय मुलुकलाई २० अर्ब डलर बराबरको हतियार बेच्ने भइसकेको छ ।

एसियामा अमेरिकी सैन्य प्रभाव कति मजबुत छ भन्ने जापान, दक्षिण कोरियाका अलावा खाडीका अधिकांश मुलुकमा भएका अमेरिकी सैन्य अखडाहरूबाट छर्लङ्ग छ । चीनसँग नजिक रहेका साउथ चाइना सिसँग नजिक रहेका फिलिपिन्सदेखि कतिपय सैन्य अखडामा पहुँचको अनुमति छ । सन् २०११ मा अफगानिस्तानमा बग्राम देखि कान्दाहारसम्म १० अमेरिकी सैन्य अखडाहरूमा एक लाख सैनिक थिए । पेन्टागनको रिपोर्टमा अफगानिस्तान युद्धमा १० लाखभन्दा बढी अमेरिकी सैनिक संलग्न रहिसकेको उल्लेख थियो । सन् २०२१ मा तालिवान पुनः सत्तामा आएपछि अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएपछि दक्षिण एसियामा कहीं कतै प्रत्यक्ष अमेरिकी सैनिक अखडा छैन । पाकिस्तानमा अमेरिकी सैनिकको बलियो पहुँच रहेको रिपोर्टहरूमा उल्लेख छ । आतंकवादविरुद्धको लडाईँमा अमेरिकाले पाकिस्तानलाई अरबौँ डलर सहयोग गरेको तथ्य छ । सन् २०२५ मा ६८ करोड डलरको सैन्य सहयोगको प्याकेज घोषणा गरेको छ ।

दक्षिण एसियाको अवस्था
यथास्थितिमा दक्षिण एसियामा अमेरिकी सैन्य अखडा मात्र नभएको होइन, प्रयोगको अनुमति पनि छैन । हिन्द महासागरमा एकमात्र सैन्य अखडा डिएगो गार्सियामा छ उसको । मैरिससको उक्त टापु १९७० को दशकदेखि बेलायत र अमेरिकाले प्रयोग गर्दै आएको थियो । डिएगो गार्सियाको सैन्य अखडा अर्को ९९ वर्षसम्म प्रयोग गर्ने सम्झौता मौरिसससँग भइसकेको छ । मालदिभ्सबाट ७२६ किलोमिटर दूरीमा पर्ने अमेरिकी सैन्य अखडा सामिरक महत्वको क्षेत्र हो जहाँबाट सोमालिया, इन्डोनेशिया पनि नजिक पर्दछन् ।

दक्षिण एसिया क्षेत्रको बंगालको खाडीमा अमेरिकाले सैन्य अखडा राख्न खोजेको विषय नउठेको होइन । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सेन्ट मार्टिन टापुमा सैन्य अखडा राख्न दिन अमेरिकाले प्रस्ताव गरेको र बदलामा शक्तिमा टिकाइराख्ने भनेको दाबी गरेकी थिइन् । उक्त प्रस्ताव अस्वीकार गर्नु नै सत्ताबाट हट्ने कारण बन्यो । उक्त कुरा पूर्वप्रधानमन्त्री शेख हसिना र उनका निकटस्थहरूले सार्वजनिक रूपमा भन्दै आएका छन् । बगालको खाडीको उत्तरपूर्णमा अवस्थित ३ वर्गकिलोमिटरको सानो टापु रणनीतिक महत्वको छ, जहाँबाट म्यानमार र पूर्वात्तर भारतका राज्यहरु नजिक छन् । चीनको बढ्दो सैन्य उपस्थितिपछि अमेरिकाले बंगलादेशमा चासो बढायो । उसले चित्तगोङ बन्दरगाहमा चासो मात्र राखिरहेको छैन पहुँच पनि बढाइरहेको छ ।

अमेरिकाले दक्षिण एसियाली देशहरूमा प्रतिरक्षा साझेदारीका परियोजनाहरू चलाइरहेको छ । सन् २०२५ मा अमेरिका र भारतबीच १० वर्षको प्रतिरक्षा साझेदारीमा सहमत भयो । जसमा सैन्य अभ्यास, प्रविधिको आदानप्रदान, संयुक्त उत्पादन उल्लेख छन् । सन् २०१९ मा अमेरिकी रक्षा मन्त्रालयको इन्डो प्यासिफिक रणनीतिसम्बन्धी रिपोर्टमा नेपालसहित दक्षिण एशियाका देशहरू भारत, श्रीलंका, बंगलादेश र मालदिभ्ससँग प्रतिरक्षासम्बन्धी सहकार्यबारे खुलाइएको छ । नेपालसँग प्रतिरक्षा सम्बन्धलाई विस्तार गर्न चाहेको कुरा पनि उल्लेख छ ।

उसले नेपालका लागि सुरक्षा सहयोगमा वृद्धि पनि गरेको छ । अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) परियोजना ल्याउन लागेकोमा चासो र चर्चा छ । अमेरिकाले यसलाई सुरक्षा वा सैन्य गठबन्धन नभएको भनेको छ । बंगलादेशमा लागू भएको एसपीपी परियोजना अन्तर्गत द ओरिगन नेस्नल गार्ड ओआरएनजी ले बंगलादेशको शान्ति सहयोग अपरेशन संस्थालाई टाइगर लाइटनिङ अभ्यासमा सहयोग पु¥याएको भनिएको छ । तर, एसपीपी परियोजना बंगलादेशमा लागू भएपछि सैन्य अखडाको प्रस्ताव शेख हसिनाले अस्वीकार गर्नु अर्थपूर्ण विषय हो । बंगलादेशमा अमेरिकी सैन्य अखडा दिन अस्वीकार गरेकी हसिनाको सरकार ढल्नु र उनले भारतमा शरण पाउनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

दक्षिण एसियामा चीन, अमेरिका या पश्चिमा देशको सैन्य गतिविधि भारतका लागि चिन्ताको विषय बन्ने गरेको छ । विश्वका सबैजसो क्षेत्रमा अमेरिकाको सैन्य अखडा छ । दक्षिण एसिया मात्र त्यस्तो क्षेत्र हो जहाँ उसको सैन्य अखडा छैन । यसको मुख्य कारण नै भारत र चीन हुन् । २१ औँ शताब्दीमा यी दुईले व्यापक शक्ति सञ्चय गरेबाट यो क्षेत्रमा अमेरिकी सैन्य अखडा रहन पाएको छैन । बरु चीनको वरिपरिका क्षेत्रहरू जापान, दक्षिण कोरियामा अमेरिकी सैन्य अखडाहरू छन् । ताइवान नजिकैको फिलिपिन्सका सैन्य अखडामा अमेरिकाले पहुँचको अनुमति पाएको छ । तर, चीनसँगै भारतको द्रुत शक्तिवृद्धि अमेरिकाको चासोमा परेको छ ।

अमेरिकाले दक्षिण एसियामा विभिन्न रणनीति चालेर रणनीतिक प्रभाव बढाउन खोजेको छ । सैन्य अखडा राखेर होस् या सैन्य साझेदारी या सहकार्यमार्फत् । यस्ता कदमहरू तत्काल या दीर्घकालीन रूपमा राष्ट्रको हितमा हुन्छ कि हुँदैन विचारणीय विषय हुन् ।

दक्षिण एसियामा हदभन्दा बढी अमेरिकाको सैन्य गतिविधि चीन र भारत जस्ता शक्तिले चुनौती देख्ने गरेका छन् । चीनका लागि तिब्बत मामला र भारतका लागि काश्मीर देखि पूर्वोत्तर राज्यहरूको विषय सुरक्षा दृष्टिले संवेदनशील हुन् । तेस्रो शक्तिले संवेदनशीलतामा खेल्ने गरेको छर्लङ्ग छ । यही कारणले कुनै न कुनै रूपमा यस क्षेत्रमा हुनसक्ने सम्भावित प्रोक्सी युद्धको खतरा औँल्याइन्छ । जसले राजनीतिक अस्थिरता, आर्थिक संकट हुँदै हिंसात्मक द्वन्द्वमा कमजोर मुलुकहरू फस्न सक्छन् ।

अमेरिका र रुसको प्रोक्सी युद्धले लामो युद्ध र संकटमा फसेको अफगानिस्तान सटिक उदाहरण हो । विदेशी सैन्य गतिविधि बढ्दै सैन्य अखडामा परिणत हुँदा मुलुक अफगानिस्तान जस्तै दसकौँ लामो युद्ध र अशान्तिको दलदलमा भासिन्छ भन्ने प्रमाणित भइसकेको छ । महाशक्ति बन्ने दिशामा उन्मुख चीन र भारत जस्ता देशहरूलाई सन्तुलनमा राख्नुको साटो चिढ्याउने गरी उनीहरूका प्रतिस्पर्धी शक्तिको सैन्य गतिविधिको आकर्षणमा पर्नु मुलुकका लागि घातक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्