काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखसँग छलफल गरेका छन् ।

शुक्रबार साँझ नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी आईजीपी राजु अर्यालसँग गृहमन्त्री गुरुङ सिंहदरबारस्थित गृहमन्त्रालयलमा बोलाएर डेढ घण्टा छलफल गरेका हुन् ।
छलफलको विषय भने बाहिरिएको छैन । यद्यपि आजै मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयपछि गृहमन्त्री गुरुङले दुई आईजीपीलाई बोलाएर गरेको छलफल अर्थपूर्ण रहेको मानिएको छ ।
कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई फौजदारी कानुनअनुसार कारबाहीको सिफारिस गरेको छ ।











