
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन् । आफूलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी आएपछि आफ्ना वकिलहरु पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।
सो क्रममा ओलीले वकिलहरुसँग आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका हुन् । उनले भनेका थिए, ‘यो पक्राउ प्रतिशोध पूर्वाग्रहपूर्ण छ । यसविरुद्ध कानुनी लडाईं लड्छु ।’
एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले आज (शनिबार) बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो ।
पक्राउपछि ओलीलाई काठमाडौँ प्रहरी परिसर भद्रकाली लगिएको छ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ‘हेलचेक्र्याइँ गरी नागरिकको ज्यान मारेको’ अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।











