
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । आज बिहानै भक्तपुरस्थितर निवासबाटै पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गरेपछि ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले डाक्टरले हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको जानकारी दिए ।
५०१ नम्बर बेड भएको भवनमा लैजाँदा ओलीलाई गाडी चढाएर लगिएको थियो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो ।
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ । आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।











