
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गरेका छन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानूनको भावना विपरीत रहेको बताए । साथै उनले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाए ।
उनले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रष्ट पारेको बताए ।
अधिकारीले एमाले यस कदमको विरुद्धमा कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पारे । उनले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह समेत गरे ।











