
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । उनले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।
भेला १९ चैतमा गरिने तय भएको स्रोतले जानकारी दियो । त्यसअघि उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बेलाएका छन् ।
उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरू हुनेछ । बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।
गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।











