Logo
Logo

एमालेको सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?


756
Shares

काठमाडौं । नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मङ्गलवार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौंमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

जस अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारद्वारा विद्यार्थी तथा पेशागत सुगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसङ्गठनहरूले आआफ्नो ढङ्गले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय समेत गरेको छ । 

साथै, बैठकले बुधवार ११ बजे जनसङ्गठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय समेत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिएको छ । साथै संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ । त्यस्तै एमालेको संसदीय दलको बैठक बुधवार ३ बजे पार्टी कार्यालयमा बस्ने समेत पोखरेलले जानकारी दिए ।

त्यस्तै एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्