काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक योग्यता आवश्यक रहे पनि पोख्रेलले सो योग्यता नहुँदा नहुँदै नियुक्ति लिएको आरोप छ । उनले नक्कली अनुभव प्रमाणपत्र पेश गरी पद हासिल गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
अनुसन्धान क्रममा पोख्रेलले एक जलविद्युत कम्पनीमा वरिष्ठ अधिकृत तहमा कार्यरत रहेको भनी प्रस्तुत गरेको अनुभव प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको छ । सम्बन्धित कम्पनीले नै उनी उक्त अवधिमा कार्यरत नभएको र सो प्रमाणपत्रको कुनै अभिलेख नरहेको जनाएको थियो ।
सोही आधारमा उनले २०७३ फागुन १० गते सेवा करारमा कम्पनी सचिव पद हासिल गरेका थिए भने पछि सो नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको थियो । आयोगका अनुसार उनले २०७३ फागुनदेखि २०८२ मङ्सिरसम्म सो पदमा रही एक करोड सात लाखभन्दा बढी रकम बराबरका सेवा सुविधा लिएका छन् ।
झुट्टा विवरण पेश गरी सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचारसम्बन्धी कानुन विपरीत भएको ठहर गर्दै आयोगले कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।











