
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा मंगलबारबाट सुरु भएको काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक आज पनि धुम्बाराहीको होटल स्मार्टमा बस्ने भएको हो ।
मंगलबारको बैठकमा निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी बारे छलफल भईरहेको काँग्रेस नेता मान बहादुर नेपालीले जानकारी दिए ।
बैठकमा करिब ८३ जना केन्द्रीय सदस्यको सहभागिता रहेको छ भने पहिलो दिन १५ जनाले आफ्नो धारणा राखेका थिए । आजको बैठक पनि बाँकी नेताहरुले आआफ्नो धारणा राख्नेछन् । विशेष महाधिवेशन पक्षधर समुहले महाधिवेशनको मिति घोषणा गरेर अगाडी बढेपछि देउवा पक्षले समानान्तर गतिविधि अगाडी बढाएको हो ।
यसआघ देउवापक्षले सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । यता कांग्रेसले भने देउवा पक्षले समानान्तर गतिविधि बढाएपछि कारबाहीबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाएको छ ।











