
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रकाउ परेर ६ दिनदेखि त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचार गराइरहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको पिसाबमा संक्रमण देखिएको छ ।
अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराका अनुसार परीक्षणका लागि पठाइएका रिपोर्ट प्रायः नर्मल आउन थालेपनि युरिन कल्चरको रिपोर्टमा भने पिसाबको संक्रमण देखिएको हो । यसकारण अहिले उनलाई चिकित्सकहरूको निगरानीमा ‘एन्टिबायोटिक्स’ चलाइएको छ ।
‘हिजोदेखि प्राय रिपोर्टहरू नर्मल आउन थालेको छ । तर युरिन कल्चरको रिपोर्टमा भने युरिन इन्फेक्सन देखाएको छ’, अस्पतालका सूचना अधिकारी रोस्याराले भने, ‘चिकित्सकहरुले सोही अनुसारको एन्टिबायोटिक चलाइ रहनु भएको छ ।’
यसअघि केहि दिनसम्म उनको मुटुको चाल गडबडीको समस्या देखिएको थियो । त्यो अहिले क्रमिक रूपमा सुधार हुँदै गएको छ ।
दुईपटक मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई युरिन इन्फेक्सन हुनु निकै संवेदनशील रूपमा लिने गरिन्छ । त्यसैले अझै केही दिन ओलीलाई आफ्नै निगरानीमा उपचार गरिने योजना चिकित्सकहरूले बनाएका छन् ।
‘युरिन कल्चरको रिपोर्टमा युरिनको संक्रमण देखिएको यसैको लागि चिकित्सकहरूको टिमले मेडिसिन चलाइरहनु भएको छ’, उनले भने, ‘मिर्गौला प्रत्यारोपणका बिरामीलाई युरिन संक्रमण हुनु निकै संवेदनशील मानिन्छ । यसैले उहाँ अझै केही दिन यही नै चिकित्सकको निगरानीमा बस्नु हुन्छ होला ।’
यस्तै ओलीलाई देखिएको पित्तथैलिको पत्थरीको शल्यक्रियाको लागि भने अब पठाइने ल्याब रिपोर्टमा भर पर्ने उनले बताए ।
गत शनिबार बिहानै प्रहरीले नियन्त्रणमा लिएलगत्तै हिरासतमा राख्नु अघि स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर त्यसवेला मुटुको चालमा गडबडी लगायतका समस्या देखा परेपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालको एनेक्स २ को ५०१ क्याबिनमा भर्ना गरी राखिएको छ ।











