Logo
Logo

‘निमित्त’ हटाउन सरकार आक्रामक, ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो


1k
Shares

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि जरा गाडेको ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’को प्रवृत्ति अन्त्य गर्न सरकारले निर्णायक कदम अघि बढाएको छ । सोही अभियानअन्तर्गत ७८ वटा गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको हो ।

स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो । यसकारण निर्णय प्रक्रियामा ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता तथा सेवा प्रवाहमा कमजोरी देखिएको भन्दै सरकार आलोचित बन्दै आएको थियो । यही अवस्थालाई अन्त्य गर्दै स्थायी प्रशासनिक संरचना मजबुत बनाउने उद्देश्यसहित सरकारले ‘निमित्त अन्त्य’ अभियान सुरु गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रतिभा रावलले स्थानीय तहको प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेकी छन् । यसअघि नै नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाउने काम सुरु भइसकेको थियो भने अब गाउँपालिकामा पनि सोही प्रक्रिया विस्तार गरिएको हो ।

मन्त्रालयका अनुसार अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको छ । त्यसैले सबै स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी छ ।

सरकारले यस कदमबाट सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खटिएपछि विकास निर्माण, प्रशासनिक निर्णय तथा सेवा वितरणमा गति आउने विश्वास गरिएको छ ।

मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय तहमा बसेको नदेखिएको अवस्था, घर ठेगाना मिल्दोजुल्दो भएका कर्मचारी, तथा स्थानीय तहको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनको आवश्यकता रहेका छन् । साथै निमित्त प्रणालीमार्फत स्थानीय तह सञ्चालन गर्दा आर्थिक अनुशासनमा नियामक निकायबाट प्रश्न उठेकाले समेत यस्तो निर्णय लिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्