
काठमाडौं । धनुषाको लालगढबाट घुससहित एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको हो ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।
सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेर थप अनुसन्धान थालिएकाे अख्तियारले जनाएको छ ।











